काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएसँगै जनता समाजवादी पार्टी(जसपा)मा शक्ति संघर्ष चुलिएको छ।
लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गरिएपछि विवाद उत्कर्षमा पुगेको जसपाका शीर्ष नेताहरु आफ्ना पक्षमा बहुमत कायम गर्न लागिपरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा पार्टी एकता कायम हुने सम्भावना कमजोर देखिएपछि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर आ–आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय बनेका हुन्।
आफ्नो पक्षमा बहुमत रहेको दावी यादव पक्षले गरिरहँदा ठाकुर पक्षपनि आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय बनेको छ।
आइतबार साँझ बसेको अनौपचारिक बैठकपछि अध्यक्ष ठाकुरले आफू पक्षधर सांसद र केन्द्रीय कार्यकारीणी सदस्यहरुलाई उपत्यका नछोड्न र बाहिर रहेकाहरुलाई तत्काल फर्कन दिर्नेशन दिएको एक सांसदले जानकारी दिए।
‘जुनसुकै बेला छलफल गर्न पर्नसक्ने भएकाले उपत्यकामा भएकालाई नछाड्न र उपत्यका बाहिर भएका सांसदलाई आउन निर्देशन आएको छ,’उनले भने,‘फोन, एमएमएस गरेर बोलाइएको छ, सबै जम्मा भएपछि बैठक बस्छ।’
जसपामा अध्यक्षहरु उपेन्द्र यादव, डा बाबुराम भट्टराई नेपाली कांग्रेस र माओवादी गठबन्धनको पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतो लगायत ओली सरकारको पक्षमा रहेका छन्। आफूहरुको माग सरकारले सम्बोधन गरिरहेको भन्दै ठाकुर महतो पक्ष ओलीको निरन्तरताको पक्षमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।