काठमाडौं- बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाको छलफल बाक्लिएको छ।
बजेट निर्माणका लागि नीति तथा कार्यक्रमलाई टुङ्गो लगाउन छलफलले तीव्रता पाएको अर्थमन्त्रीका स्वकीय सचिव तुलसीराम मैनालीले बताए। प्रधानमन्त्री र अर्थमन्त्रीबीच आज बिहान ८ बजेदेखि चार घन्टासम्म बजेटको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको उनले जनाए।
उनले भने, ‘साना टुक्रे बजेटभन्दा ठूलाठूला योजनालाई प्राथमिकतामा राखेर छलफल भएको छ।’
सरकारले सानातिना योजना निर्माणको जिम्मा प्रादेशिक र स्थानीय सरकारलाई दिएकाले ठूला आयोजनालाई प्राथमिकतामा राखेको उनले जनाए।
अर्थ मन्त्रालयमा पछिल्लो समय बजेटको माग गर्दै विभिन्न क्षेत्रबाट दैनिक दुई दर्जनको हाराहारीमा निवेदन आउने गरेका छन्। त्यस्ता निवेदन दिनेमा केही पूर्वाधार निर्माणको माग राख्दै त केही संस्थागत लगानीकर्ता हुने गरेका स्वकीय सचिव मैनालीले जानकारी दिए।
सरकारले केही नयाँ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि सार्ने तयारी गरेको उनले बताए।
आगामी आर्थिक वर्ष २०७५/७६ को लागि जेठ १५ गते बजेट घोषणा गर्ने सरकारको तयारी छ। यसै क्रममा राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ अर्थ मन्त्रालयलाई पठाइसकेको छ। सोही सिलिङभित्र रहेर मन्त्रालयले बजेट निर्माण गर्नुपर्ने हुन्छ। यद्यपि विगतका वर्षमा पटक-पटक सिलिङभन्दा बाहिर गएर बजेट ल्याउने गरिएको थियो।
संघीय सरकारको बजेटपछि प्रदेश सरकारले असार १ मा र स्थानीय सरकारहरूले असार १० मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
अर्थ मन्त्रालयले केही समयअघि स्थानीय तहलाई राजस्व बाँडफाँट र समानीकरण अनुदान बापत एकमुष्ठ न्यूनतम ९ करोडदेखि अधिकतम १ अर्ब ३४ लाख रुपैयाँसम्म सिलिङ दिएको छ। त्यस्तै, प्रदेशलाई न्यूनतम १३ अर्ब रुपैयाँदेखि अधिकतम १५ अर्ब रुपैयाँसम्म सीमा तोकेको छ।
बजेटको मुखमा सुनसान अर्थ मन्त्रालय
आगामी आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक हुन ५ दिन मात्रै बाँकी रहँदा अर्थ मन्त्रालय भने सुनसान छ। विगतका वर्षहरुमा बजेट निर्माणको पूर्वसन्ध्यामा मन्त्रालयमा भीडभाड हुने गरेको थियो। सानातिना बजेट निर्माणको काम स्थानीय स्तरबाट हुने भएकाले यस पटक मन्त्रालयमा भीडभाड कम भएको अर्थमन्त्रीका स्वकीय सचिव मैनालीले बताए।
‘अर्थमन्त्रीले सानातिना टुक्रे कार्यक्रमलाई ध्यान नदिने भएकाले पनि बजेट निकासीलाई लिएर मन्त्रालयमा अघिल्लो वर्षको तुलनामा भीड कम छ’, उनले भने।
अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले पनि मुलुक संघीय प्रणालीमा गइसकेकाले विगतमा हुने भीडभाड सिंहदरबारबाट अन्यत्र सरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।