नेपालगन्ज- नियमित भाडाभन्दा दोब्बर बढी मूल्य लिएर नेपालगन्ज-कर्णालीमा हुँदै आएका 'चार्टर उडान' बन्द भएको छ।
नेपाल नागरिक उड्यन प्राधिकरणले बिहीबारदेखि त्यसखाले उडान बन्द गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बैसाख २६ गते यसबारे मन्त्रीस्तरीय निर्णय गरेको थियो। प्राधिकरणले २०६७ सालमा तय भएको भाडादरलाई समायोजन गरी सबै विमान कम्पनीलाई नयाँ भाडादर अनुसार नियमित उडान मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
भाडा समायोजनपछि नेपालगन्जदेखि कर्णाली क्षेत्रका डोल्पा, हुम्लाको सिमीकोट, जुम्ला, रारा र बाजुराको भाडादर करिब ३५ प्रतिशतले वृद्धि भएको छ। भाडा बढे पनि चार्टर उडानमा रोक लगाइएपछि कर्णाली क्षेत्रका बासिन्दाले सहुलियत नै पाउनेछन्।
सरकारले तोकेको भाडादरमै नियमित उडान भर्नुपर्ने विमान कम्पनीले यात्रु नभएको भन्दै उडान रद्द गर्ने र बढी भाडामा चार्टरमा उडाउने गरेको प्राधिकरणका नेपालगन्ज प्रमुख प्रताबबाबु तिबारीले बताए।

नेपालगन्जबाट कर्णाली क्षेत्रमा सबैभन्दा बढी तारा एयरले उडान गर्दै आएको छ। नयाँ भाडादर कायम भई चार्टर फ्लाइट बन्द भएपछि ताराले नेपालगन्जबाट राराका लागि दैनिक २, डोल्पा र जुम्लाका लागि दैनिक एक-एक र बाजुरका लागि हप्तामा शनिबार मात्र उडान भर्ने गरी प्राधिकरणमा उडान तालिका पेश गरेका छन्।
समिट एयरले रारा र डोल्पामा दैनिक एक-एक र बाजुरामा हरेक हप्ताको बुधबार र जुम्लामा मंगलबार उडान भर्नेछ भने सीता एयरले डोल्पामा हरेक हप्ताको मंगलबार, रारामा आइतबार, जुम्लामा सोमबार र बाजुरामा शुक्रबार उडान भर्ने प्राधिकरणले जनाएको छ।
चार्टर फ्लाइट बन्द गरी नियमित उडान मात्रै सञ्चालन हुने भएकाले यात्रुहरुले सहजै टिकट पाउने र कर्णाली क्षेत्रको उडान पनि व्यवस्थित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका केही उच्च अधिकृतसँगको मिलेमतोमा एक दशकयता विमान कम्पनीहरुले सडक यातायातको पहुँच नभएका जिल्लाका सर्वसाधारणसँग दोब्बर भाडा असुल्दै आएका थिए। चार्टर फ्लाइट हुँदा विमान कम्पनीहरुबाट एजेन्टहरुले एउटा टिकटमा १५ सय रुपैयाँसम्म कमिसन लिने गर्थे।

नयाँ भाडादर यसअघिको भन्दा ३५ प्रतिशतले बढी भए पनि चार्टर फ्लाइटको भाडादरभन्दा ३२ प्रतिशतले कम हुने प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार, पछिल्लो एक वर्षमा नेपालगन्जबाट दुर्गम क्षेत्रका ४१ सय उडान भरिएका छन्। ‘सरदर ८ हजार फ्लाइट मात्र सेड्युलका होलान्,' ३३ सय चार्टर उडान भएको तथ्यांक दिँदै प्राधिकरण प्रमुख तिवारीले भने, ‘यी उडानमा यात्रुहरुले दोब्बर रकम तिरेर यात्रा गर्नुपर्ने वाध्यता थियो।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।