काठमाडौं– सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अध्यादेशमार्फत् जारी नयाँ कानूनी व्यवस्थाअनुसार समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको निर्देशक समितिको नेतृत्व अध्यादेशमार्फत् प्रधानमन्त्री केपी शर्मा ओली आफैले गर्ने व्यवस्था गरिएको छ। अब निर्देशक समिति मातहत रहेर पूर्वरथी शर्माले सीसीएमसीको नेतृत्व गर्नेछन्। उनका सामु कोरोना महामारीसँग जुध्ने नीति र योजना तर्जुमा गर्न सरकारलाई सघाउने र सरकारले त्यसनिम्ति गरेका निर्णय कार्यान्वयन गर्ने चुनौती हुनेछ। उनको नियुक्तिलाई लिएर धेरैले सकारात्मक टिप्पणी गरिरहेका छन्। सामाजिक सञ्जालमा ‘ओली सरकारले पनि काबिल मान्छे चिनेको’ टिप्पणीसमेत भइरहेको छ। यस्तो चर्चा हुनेगरी पूर्वरथी शर्माले यसअघि के चाहिँ गरेका थिए त?
लडाकू समायोजनका कुशल ‘डिजाइनर’
नेपाली सेनाको नेतृत्वको दाबेदार बन्ने तहमा पुगेर सेवानिवृत्त भएका शर्माले त्यसपछि महत्वपूर्ण जिम्मेवारी पाएका थिए। दश वर्षसम्म सशस्त्र द्वन्द्व सञ्चालन गरेको माओवादी भर्खरै शान्तिप्रक्रियामा आएको समय थियो त्यो। शान्तिप्रक्रियाको सबभन्दा पेचिलो विषय नै माओवादीका लडाकूहरुलाई सेनामा कसरी समायोजन गर्ने भन्ने थियो।
राजनीतिक रस्साकस्सी तीब्र थियो, तर समायोजनको स्वीकार्य खाका बन्न सकेको थिएन। त्यहीबेला सरकारले उनलाई सेना समायोजन विशेष समिति सचिवालयको संयोजक बनाउने निर्णय गर्यो। त्यो प्रधानमन्त्रीको अध्यक्षतामा रहने समिति थियो, जसमा दलक नेताहरु नै सदस्य थिए। शर्माले ती सबैलाई ‘कन्भिन्स’ गरेर समायोजनको खाका बनाउने, सेना र माओवादी लडाकूलाई पनि चित्त बुझ्नेगरी काम अघि बढाउने जिम्मेवारी पाए।
माओवादी लडाकूको नेपाली सेनामा समायोजन प्रक्रियालााई धेरैले ‘चमत्कार’का रुपमा चर्चा गर्ने गर्छन्। किनभने समायोजना प्रक्रिया त्यति चाँडै र त्यति सजिलै टुंगिएला भन्ने विश्वास धेरैलाई थिएन। पहिलो चरणमा प्रमाणीकरणमा समेटिएका करिब ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र बाँकीलाई पनि शान्तिप्रक्रियामा जोखिम नहुनेगरी घर फर्काउनु आफैंमा महत्वपूर्ण उपलब्धि थियो। यसमा मुलतः शर्माकै भूमिका थियो। निर्णय राजनीतिक तहबाट भए पनि त्यसका लागि योजना बनाउन उनले नै भूमिका खेलेका थिए। त्यसबेला विशेष समितिका सदस्य रहेका एक नेता भन्छन्, ‘उहाँको क्षमता, शैली र स्वभावले पनि यसमा सकारात्मक प्रभाव पार्यो। बालाजर्साबको ठाउँमा अर्को मान्छे भइदिएको भए परिणाम यति सहज नहुन पनि सक्थ्यो।’
झण्डै प्रधानसेनापति !
शर्मा नेपाली सेनामा प्रधानसेनापतिपछिको पद, रथीबाट निवृत्त भए। रोचक चाहिँ उनी त्यसबेला ‘झण्डै’ प्रधानसेनापति भइसकेका थिए।
नेपालमा २०६२/६३ को जनआन्दोलन भर्खरै सकिएको थियो। आन्दोलनको राप र ताप यति थियो कि त्यही जगमा पुन:स्थापित प्रतिनिधि सभाबाट प्रधानमन्त्रीमा निर्वाचित भएका गिरिजाप्रसाद कोइराला शक्तिशाली थिए। जनआन्दोलनमा भएको व्यापक दमन छानविनका लागि गठित रायमाझी आयोगले तत्कालीन प्रधानसेनापति प्यारजंग थापालगायतलाई कारबाहीको सिफारिस गरेको थियो। सेनापति बन्ने लाइनमा थिए, रथी रुक्मांगद् कटवाल।
तर, कटवाललाई ‘दरबारको मान्छे’ भन्दै धेरैले संशय व्यक्त गरिरहेका थिए। त्यसमध्ये भर्खरै हिंसात्मक विद्रोह छाडेको माओवादी प्रमुख थियो। त्यो अवस्थामा प्रधानमन्त्री कोइरालाले कटवाललाई छाडेर शर्मालाई प्रधानसेनापति बनाउनेगरी कुरा अघि बढाए।
शर्मा त्यतिबेला संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा सिरियाको गोलान हाइटमा कार्यरत थिए। उनलाई गिरिजाप्रसादको खबर गयो– ‘इच्छुक भए हामी सेनापति बनाउन तयार छौं।’
तर, शर्माको जवाफ अपेक्षित थिएन। उनले त्यसलाई स्वीकार गरेनन्। त्यसबेला उनले दिएको जवाफ उद्धृत गर्दै कोइरालासँग नजिक रहेका नेपाली कांग्रेसका एक नेताले त्यसबेला सुनाएका थिए, ‘सेनामा सिनियरिटीको ठूलो अर्थ हुन्छ, मभन्दा सिनियर अर्को जर्साब (कटवाल) हुनुहुन्छ। उहाँ हुँदाहुँदै मैले प्रधानसेनापति बन्ने इच्छा देखाउन मिल्दैन। यस्ता कुरा नगरिदिनुस्।’
त्यसपछि कोइरालाले पनि कटवाललाई ‘कारबाही’ गरेर शर्मालाई प्रधानसेनापति बनाउने आँट गरेनन्।
फेरि प्रधानमन्त्री मातहत
सेना समायोजन विशेष समितिको संयोजक प्रधानमन्त्री रहने व्यवस्था थियो। विशेष समिति सचिवालय संयोजक भएर पूर्वरथी शर्माले गरेको कामले सफल नतिजा दियो। त्यसबेला उनले धेरै जना प्रधानमन्त्रीको मातहत रहेर यो जिम्मेवारी बहन गरे।
संयोग ! उनले फेरि एक पटक प्रधानमन्त्री नै प्रमुख रहने समिति मातहत रहेर आफ्नो क्षमता सिद्ध गर्ने अवसर पाएका छन्। तर, भूमिका धेरै फरक छ। त्यसबेला हिंसाको राजनीति सँधैका लागि अन्त्य गरेर शान्ति प्रक्रिया सफल पार्ने भूमिकामा उनी केन्द्रित थिए। शान्त भएर सोच्ने, त्यसअनुसार योजना बनाउने र कार्यान्वयनमा लैजाने मौका थियो। यसपालि उनी निकै शक्तिशाली देशहरुले समेत काबु पाउन नसकिरहेको महामारीसँग जुध्ने भूमिकामा केन्द्रित हुनुपर्नेछ। त्यो बेला जस्तो समय छैन, धेरै कुरा तत्काल अघि बढाउनुपर्नेछ। र, यो अरु युद्धभन्दा निकै फरक छ। शर्माले पनि आफूमा चुनौतीपूर्ण जिम्मेवारी आइलागेको बताए। उनले नेपाल लाइभसँग भने, ‘जिम्मेवारी चुनौतीपूर्ण भए पनि आफूमाथि गरिएको विश्वासलाई न्याय गर्ने प्रयास गर्छु।’
शर्माले बुधबारदेखि नै 'अफिस सेटअप'मा लाग्ने र बिहीबारदेखि काम शुरु गर्ने तयारी गरेको बताए। रक्षा मन्त्रालय रहेको पुतली बगैचास्थित भवनमा कार्यालय स्थापना गर्न लागिएको उनले जानकारी दिए।
‘सचिवालयदेखि सिचुएसन सेन्टर सबै त्यहीँ तयार गर्ने योजनामा छु, हामीलाई स्थानीय सरकारदेखिका सूचना पनि चाहिन्छ, योजना कार्यान्वयनका लागि स्थानीय सरकारसम्म दोहोरो संवाद पनि आवश्यक पर्छ’, उनले भने।
अहिले हरेक घण्टा क्रिटिकल आवर भएको उल्लेख गर्दै उनले हरेक घण्टा दिनुपर्ने उपचार र हेरचाहसँगै रोकथाम र नियन्त्रणसम्ममा केन्द्रित हुनुपर्ने बताए। ‘संक्रमण भइसकेपछि उपचारको कुरा त छँदैछ’, उनले भने, ‘मुख्य त खोप नै हो, निदान पनि त हुनुपर्यो। हामी जाने त्यही बाटोमा हो, त्यसकै लागि योजना बनाउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।