काठमाडौं– पछिल्लो हप्ता विश्वभर कोरोनाका महामारी र मृत्युमा कमी देखिएको छ। यसबीचमा ४१ लाख संक्रमित थपिएका छन् भने ८४ हजार जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले जनाएको छ।
पछिल्लो हप्ता त्यसअघिको हप्ताको तुलनामा नयाँ संक्रमितको संख्यामा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृत्युमा सबैभन्दा धेरै कमी देखिएको छ भने दक्षिण पूर्वी एशियामा पनि सुधार आएको छ।
अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिम प्रशान्त क्षेत्रमा स्थिति गतहप्ताको जस्तै देखिएको छ। पश्चिम प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै उछाल देखिएको छ जबकी बाँकी क्षेत्रमा सुधार भइरहेको संगठनले जनाएको छ।
पछिल्लो चार हप्तादेखि विश्वभरको स्थितिमा केही सुधार आएको देखिएको भएपनि संक्रमित र मृतकको संख्या अहिले पनि धेरै छ भने केही देशमा संक्रमण र मृत्युमा वृद्धि भएको देखिएको छ।
यसैबीच अमेरिकी स्वास्थ्य मन्त्रीले विश्व स्वास्थ्य संगठनले गर्ने कोरोनाको स्रोतको जाँचको आगामी चरणमा पारदर्शिता आवश्यक रहेको बताएको छ।
डब्ल्यूएचओको मन्त्री स्तरीय बैठकमा अमेरिकी मन्त्री जेवियर बेसेराले अन्तर्राष्ट्रिय विशेषज्ञलाई कोरोना भाइरसको स्रोत पत्ता लागउन अनुमति दिनुपर्ने बताए।
कोभिड–१९ को पहिलो केस २०१९को अन्त्यमा चीनको खुबे प्रान्तको वुहान सहरमा पाइएको थियो। त्यसपछि विश्वभर यसबाट १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् भने ३४ लाख मानिसले ज्यान गुमाएका छन्।
यसअघि मार्चमा विश्व स्वास्थ्य संगठनले यसको सुरुवाताका विषयमा चिनियाँ वैज्ञानिकसँग मिलेर तयार गरेको एक रिपोर्टमा भाइरस ल्यावबाट फैलने सम्भावना बहुत कम भएको रिपोर्ट सार्वजनिक गरेको थियो। तर अमेरिकाले भने चिनियाँ ल्याबबाट कोरोना भाइरस फैलिएको दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।