काठमाडौं– सरकारले चालू आर्थिक वर्षको मुलुकको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेश गरेका हुन्। आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा ५ दशमलब ५९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।
अर्थमन्त्री खतिवडाले प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने अनुमान पनि गरिएको बताए। आर्थिक सर्वेक्षणले मुलुकमा अहिले पनि ८० लाखभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको पनि औंल्याएको छ।
आर्थिक सर्वेक्षणमा राजस्वको वृद्धि सन्तोषजनक रहेको, देशका सबै ठाउँमा बैंक तथा वित्तीय संस्थाहरुको पहुँच पुर्याउने काम भएको पनि उल्लेख गरिएको छ। अर्थमन्त्री खतिवडाले मूल्यवृद्धिमा चाप पर्न थालेको बताउँदै सरकारी खर्च बढ्न भई बजेट घाटा बढ्न थालेको पनि स्पष्ट पारे।
अर्थमन्त्री खतिवडाले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा सेयर बजार स्थिरता उन्मुख रहेको दाबी समेत गरिएको छ। सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ। त्यसअघि सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने परम्परा रहिआएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।