काठमाडौं- बुद्ध एयरले काठमाडौंदेखि भारतको वाराणसी (बनारस) सम्मको उडान संख्या थपेको छ। यसअघि वाराणसीमा महिनामा दुई उडान गर्दै आएको कम्पनीले आउँदो असार १५ (जुन २९) देखि साताकै दुई पटक सोमबार र शुक्रबार नियमित उडान गर्ने भएको हो।
उडान संख्या विस्तारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं र वाराणसीलाई नेपालको बुद्ध एयरले मात्रै हवाई उडानबाट जोडेको बताए।
‘भारतीय पर्यटकको नेपाल घुम्ने संख्या वृद्धि गर्न उक्त उडानलाई नियमित बनाएका हौं’, उनले भने।
प्रबन्ध निर्देशक बस्नेतले वाराणसीमा नेपालको ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने क्रममा बुद्ध एयरले हालसम्म ५० लाखभन्दा बढी खर्च गरेको पनि बताए।
कम्पनीले उडानसँगै नेपाली यात्रुलाई वाराणसी तथा भारतीय यात्रुलाई नेपालका विभिन्न स्थानको पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने भएको छ। बुद्ध एयरको रिसर्च तथा डेभलपमेन्ट विभागकी आस्था बस्नेतले यस्ता प्याकेजबाट कम्पनीलाई मात्र नभई होटल, यातायात क्षेत्र, टुर गाइड लगायतलाई पनि फाइदा हुने बताइन्।
भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पल्स एन्ड टाइगर्स जस्ता नाम दिइएको प्याकेजबाट मनकामना, जानकी, मुक्तिनाथ दर्शन गराउने उद्देश्य राखिएको छ। यसैगरी नेपाली यात्रुका लागि वाराणसी, सारनाथ, बोधगया, इलाहावाद, अयोध्या लक्षित प्याकेजहरु पनि रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।