काठमाडौं- चालू आर्थिक वर्षको आठ महिनासम्ममा देशमा सानाठूला गरी ७ हजार ३ सय ३४ उद्योग सञ्चालनमा रहेका छन्। सञ्चालित उद्योगहरुमा १५ खर्ब ६३ अर्ब रुपैयाँ लगानी रहेको अर्थ मन्त्रालयद्वारा जारी आर्थिक सर्वेक्षण २०७४/०७५ मा उल्लेख छ।
सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा धेरै उद्योग प्रदेश ३ मा सञ्चालित छन्। यस प्रदेशमा ५ खर्ब ६ अर्ब रुपैयाँ लगानीमा ४ हजार ९ सय ६१ उद्योग सञ्चालनमा रहेका छन्। यस प्रदेशमा सेवामूलक १ हजार ७ सय ३९ वटा, उत्पादनमूलक १ हजार ५ सय ८६ र पर्यटनमूलक उद्योग १ हजार १ सय ८० वटा छन्।
यता कर्णाली प्रदेशमा सबैभन्दा थोरै ३८ उद्योग सञ्चालनमा छन्। उक्त उद्योगमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ। कर्णाली प्रदेशमा सबैभन्दा धेरै १३ ऊर्जामूलक आयोजना रहेका छन्। त्यस्तै, सेवामूलक ९, उत्पादनमूलक ६, खनिज र पर्यटनमूलक ५/५ उद्योग सञ्चालन रहेको सर्वेक्षणमा उल्लेख छ।
प्रदेश १ मा चालू आर्थिक वर्षको आठ महिना सम्ममा ६ सय ७३ वटा उद्योग सञ्चालनमा रहेका छन्। प्रतिवेदन अनुसार उक्त उद्योगमा ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको लगानी रहेको उल्लेख छ। यस प्रदेशमा सबैभन्दा धेरै ३ सय ६७ वटा उत्पादनमूलक उद्योग रहेका छन्। त्यस्तै, १ सय ७ कृषि तथा वनजन्य उद्योग, ७६ ऊर्जामूलक उद्योग, ७१ वट सेवामूलक लगायतका उद्योग सञ्चालनमा छन्।
प्रदेश २ मा ८३ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानीमा ४ सय ९१ उद्योग सञ्चालनमा रहेका छन्। यस प्रदेशमा सबैभन्दा धेरै ४ सय १६ वटा उत्पादनमूलक उद्योग सञ्चालनमा छन्। त्यस्तै, सेवा उद्योग ४०, कृषि तथा वनजन्य उद्योग २३, पर्यटन उद्योग १० र खनिज उद्योग २ वटा रहेका छन्।
प्रदेश ४ मा २ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको ५ सय ५६ वटा उद्योग सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा धेरै २ सय ३३ वटा पर्यटनमूलक उद्योग सञ्चालनमा छन्। त्यस्तै, सेवामूलक १ सय ७, उत्पादनमूलक ८६, ऊर्जामूलक ८५ वटा उद्योग सञ्चालनमा रहेका छन्।
प्रदेश ५ मा ५ सय ८ उद्योग सञ्चालनमा छन्। उक्त उद्योगमा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ। यस प्रदेशमा सबैभन्दा धेरै ३ सय ५० वटा उत्पादनमूलक उद्योग छन् भने पर्यटनमूलक ६०, सेवामूलक ५६, खनिजमूलक २०, कृषि तथा वनजन्य १४, ऊर्जामूलक ६, निर्माणमूलक २ वटा उद्योग सञ्चालनमा छन्।
प्रदेश ७ मा हालसम्म १ सय ७ उद्योग सञ्चालनमा छन्। उक्त उद्योगमा २६ अर्ब ४३ करोड रुपैयाँ लगानी छ। त्यसमध्ये सबैभन्दा धेरै उत्पादनमूलक ४१ वटा उद्योग सञ्चालनमा छन्। खनिज, सेवा र ऊर्जामूलक १८/१८ वटा उद्योग सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।