जसपाका नेताका रुपमा राजेन्द्र महतो आफ्ना गलत विचार बोक्न स्वतन्त्र वा बाध्य भए पनि त्यस्ता खोटा विचारको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन मिल्दैन।
नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्रियता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौं।
यस्तै उट्पट्याङ विषयले प्राथमिकता पाएका कारण पहिलो संविधानसभाको असफलता र दोस्रो संविधानसभाबाट संविधान बनाउनुअघि एमाले, कांग्रेस र माओवादीबीच सम्पन्न १६ बुँदे सहमतिमार्फत किनारा लागिसकेका विषयलाई अस्वीकार गर्दै संविधान बनेको अभिलेख छ।
त्यतिबेला संविधान रोक्नका लागि अनेक हारगुहार गर्ने, सीमामा गएर नाकाबन्दी गराउने र संविधान जारी भएको दिनलाई कालो दिवस भनेर बदनाम गर्ने उपेन्द्र यादवको संघीय समाजवादी फोरम र महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टी दुबै पालैपालो त्यही संविधानलाई स्वीकार गर्दै निर्वाचनमा सहभागी हुनु र त्यस्तो हुन नदिने प्रमुख पात्रका रुपमा आफैंले कटाक्ष गरिएका केपी शर्मा ओलीको सरकारमा सहभागी हुनुले उनीहरुका त्यस्ता माग स्वतः खण्डित भइसकेका मात्र भएका छैनन्, सधैँका लागि समाप्त भएका छन्। सबल, सार्वभौम र एकीकृत राट्रका लागि यो खुसीको विषय हो।
हिजो माओवादीले कतै जातका आधारमा त कतै भाषाका आधारमा राज्य बाँड्दै हिँडेका कारण पहिलो संविधानसभामा के कस्तो अवस्था देखियो र त्यसले कुन नियति भोग्नुपर्यो भन्नेबारेमा हामी सबै जानकार नै छौं। ती अत्यन्त हानिकारक, अवाञ्छित र अस्वीकृत विचार पुनः जुनसुकै स्वरुपमा उठे पनि परास्त हुन्छन्।
मुलुकको आवश्यकता, राष्ट्रिय एकता, भौगोलिक बनावट, जनसांख्यिक अवस्थिति जस्ता कुरालाई ध्यानमा राखेर सात प्रदेश निर्माण भएर मुलुक अघि बढिरहेको बेला कसैले सपनामा वा विपनामा भन्दैमा यसमा तलमाथि हुन सम्भव नै छैन।
जसपासँग एमालेले सत्ता समीकरण गर्नुको अर्थ उसका गलत, अवास्तविक, बोकाइएका र घातक धारणाहरुसँग सहमत हुनु होइन। प्रतिनिधिसभाको बनावटका कारण प्राप्त सुविधाभित्र समीकरण निर्माण गर्नुपर्दाका संसदीय नियमबाहेक यस्ता समीकरणलाई अन्यथा अर्थमा हेर्न आवश्यक छैन।
जसरी एउटै मोर्चामा भइरहँदा पनि नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरेको माओवादप्रति नेपाली कांग्रेस सहमत छैन होला र कांग्रेसको बुर्जुवा केन्द्रित प्रजातान्त्रिक समाजवादप्रति माओवादी सहमत छैन होला, त्यसैगरी जसपाले उठाएका वा उनीहरुको मनमा रहेका मान्यताहरुप्रति नेकपा (एमाले) सहमत छैन र हुन सक्दैन ।
सरकारी ओहोदाको सपथ खाइसेकपछि सडकमा बसेर लगाएका नारा र सिंहदबारको कुर्सीमा बसेर बोलिएका कुराबीच भिन्नता हुन्छ भन्ने कुरा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नेतृत्वमा मन्त्री बनिसकेका राजेन्द्र महतोलाई अवश्य थाहा हुनुपर्ने हो। हौसिएर, झुक्किएर वा जसलाई चित्त बुझाउन भए पनि गलत कुरा सार्वजनिक भएकाले आनाकानी नगरीकन या राजेन्द्र महतोले आफ्नो गलत अभिव्यक्ति फिर्ता लिनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।