काठमाडौं- सन् २०१७ मा स्थलमार्गबाट आएका भारतीय पर्यटक बाहेक ९ लाख ४० हजार पर्यटक नेपालमा भित्रिएका छन्। यो संख्या २०१६ को भन्दा २५ प्रतिशतले बढी हो। २०१६ मा ७ लाख ५३ हजार पर्यटक भित्रिएका थिए।
सन् २०१७ मा आएका कुल पर्यटकमध्ये भ्रमणको उद्देश्यको आधारमा बिदा/मनोरञ्जन/यात्राका लागि आउने पर्यटकको अनुपात दुई तिहाईभन्दा बढी छ। यसको हिस्सा कुल पर्यटकको ७० प्रतिशत रहेको छ। त्यस्तै, तीर्थयात्राका लागि १५ प्रतिशत पर्यटक, पर्वतारोहण/पदयात्राका लागि ८ प्रतिशत र अन्य उद्देश्यका लागि ७ प्रतिशत पर्यटक नेपाल भित्रिने गरेका छन्।
पछिल्लो समय स्थलमार्गबाट आउनेभन्दा हवाईमार्गबाट पर्यटकको संख्या बढ्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। सन् २०१७ मा कुल पर्यटकमध्ये हवाईमार्गबाट आउने पर्यटकको हिस्सा ८१ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको हिस्सा १९ प्रतिशत छ।
पर्वतारोहणबाट ५१ करोड रोयल्टी संकलन
उड्डयन मन्त्रालयका अनुसार, सन् २०१७ मा पर्वतारोहणबाट ५१ करोड ७६ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। ६ हजार ५ सय मिटरभन्दा माथिका हिमालबाट सरकारले र सोभन्दा मुनिको हिमालबाट नेपाल पर्वतारोहण संघले रोयल्टी उठाउँदै आएको छ। यस वर्ष सरकारले ४१ करोड ५८ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ भने नेपाल पर्वतारोहण संघले १० करोड १८ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ। सगरमाथा रहेको प्रदेश १ बाट सबैभन्दा बढी रोयल्टी ४४ करोड ३ लाख रुपैयाँ संकलन भएको छ। सबैभन्दा कम कर्णाली प्रदेशबाट १६ लाख रुपैयाँ संकलन भएको छ। मुलुकको तीन प्रदेश (२, ५, ७) मा हिमाल नभएकाले रोयल्टी संकलन हुँदैन।
सबैभन्दा धेरै पर्यटक भारतबाट
देशगत रुपमा कुल पर्यटक आगमनको संख्यालाई विश्लेषण गर्दा सन् २०१७ मा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रने गरेका छन्। कुल पर्यटकको १७ दशमलब १ प्रतिशत हिस्सा भारतीय पर्यटकको छ। त्यस्तै, चीनबाट, ११.१ प्रतिशत, अमेरिकाबाट ८.४ प्रतिशत, बेलायतबाट ५.४ प्रतिशत, श्रीलंकाबाट ४.८ प्रतिशत र अन्य मुलुकबाट ५३.२ प्रतिशत पर्यटक भित्रिने गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
पर्यटकको औसत बसाइ १२.६ दिन
सन् २०१७ मा एउटा विदेशी पर्यटकको नेपाल बसाइ औसत १२.६ दिनको रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। प्रतिदिन पर्यटकको खर्च ५४ अमेरिकी डलरको छ। सन् २०१६ मा पर्यटकको बसाइ अवधि औसत १३.४ दिन र प्रति पर्यटक दैनिक खर्च ५३ अमेरिकी डलर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।