विश्वमा करिब ४५ करोड मधुमेही छन् र अझै ४५ करोड यसकाे जोखिम नजिक रहेको तथ्याङ्कले देखाउँछ। हाल विश्वमा करिब १७ करोड मानिसहरु काेराेनाबाट प्रभावित छन्।
लक्षण नभएका वा हल्का लक्षण भएका व्यक्तिहरुको परीक्षण नहुँदा अर्को करिब १७ करोड काेराेना संक्रमण भएका तर, निदान नभएका हुन सक्छन। त्यसैले विश्वको ठूलो संख्याका मधुमेहीहरुमा काेराेना संक्रमण भएकाे स्पष्ट हुन्छ।
यद्यपि, मधुमेह हुनेलाई काेराेना संक्रमण हुने खतरा बढी हुन्छ भन्ने वैज्ञानिक तथ्यले प्रमाणित गरिसकेको छैन। यता, कोराेनाले प्यानक्रियाजलगायत शरिरको मेटाबोलिज्मलाई असर गरेर मधुमेह शुरु हुन्छ भन्ने तथ्य पनि प्रमाणित भएकाे छैन।
मधुमेहीमा काेराेना संक्रमण भएमा छिटो लक्षणयुक्त हुने, अवस्था बिग्रने, खतराको संकेत प्रष्ट देखिने र मृत्युसमेत बढी हुने गरेकाे छ। समग्रमा काेराेनाबाट मृत्यु १ प्रतिशतभन्दा कम हुने गरेकोमा मधुमेही काेराेना संक्रमितकाे मृत्युदर करिब ८ प्रतिशत देखिन्छ।
मुटुरोग, उच्च रक्तचाप, मिर्गौला रोग र पहिले नै फोक्सो सम्बन्धी दीर्घ रोगीहरुमा मधुमेह पनि भएमा बढी जोखिम देखिन्छ।
मधुमेहका कारण पहिल नै मिर्गौला छोएका, प्यारलाइसिस भएका, एन्जियोप्लास्टी वा मुटुको वाइपास सर्जरी गरेकाहरुमा काेराेना संक्रमण हुँदा अवस्था अझ भयानक हुनसक्छ।
मधुमेहको कारण शरिरको कोषिकाहरुमा सुक्ष्म सुजन भइरहेकाे हुन्छ र भाइरसले पनि प्रभावित हुँदा कोषिकाहरुमा त्यसरीनै आक्रमण गर्ने हुनाले सम्बन्धित अंग छिटो खराब हुन्छ।
मधुमेहको रगतका नलिहरु र स्नायु प्रणालीमा हुने प्रभावले काेराेनाका केही लक्षणहरुलाई बिरामीले शुरुमा थाहा नपाउने, नजरअन्दाज गर्ने वा मधुमेहकै लक्षण सम्झेर भ्रम पर्ने गरेका छन्।
लकडाउनको कारण घरमा बसिरहँदा खाना र खाजाको मात्र बढ्ने (करिब २० प्रतिशत बढी कार्बोहाइड्रेट खाइने) तर, सो को अनुपातमा बाहिर निस्कन नमिल्ने हुनाले नियमित कसरत र हिँडाइ करिब ४० प्रतिशतका दरले घटेको तथ्यहरुले देखाएकाे छ। यसले रगतमा ग्लुकोज अनियन्त्रित रुपमा बढ्छ र विषेश गरी खाएपछिको सुगर हुन्छ, जुन मुटु र रक्तनलिलाइ बढी घातक मानिन्छ।
हाम्रो जस्तो मुलुकमा इन्सुलिन लगाउन डराउने, लगाउन तयार भए पहिले नै मधुमेहको कारणले आँखा कमजोर भइसकेको हुने वा ज्ञानको कमी हुन्छ। यस्तो अवस्थामा इन्सुलिन लगाइदिने आफन्त वा नजिकको स्वास्थ्यकर्मीको सहयोगसमेत लिने गरेको पाइन्छ।
तर, काेराेनाका कारण भैतिक दुरी कायम गर्नुपर्ने हुँदा त्यसरी इन्सुलिन लगाइदिन नमिल्दा रगतमा ग्लुकोज झनै अनियन्त्रित भएर मधुमेह गम्भिर र जटिलतर्फ जान्छ। पछि काेराेना संक्रमण हुन थप सहयोग पुग्छ।
काेराेनाका कारण अस्पतालमा भर्ना भएका मधुमेहीमा छिट्टै ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ, जुन ट्याबलेटबाट सम्भव हुँदैन। काेराेना संक्रमणले कलेजोको इन्जाइमहरु बढाउन सक्ने र गम्भीर हुँदै जाँदा मिर्गौला प्रभावित गर्नसक्ने हुँदा त्यस्तो बेला ट्याबलेट औषधि बन्द गर्नुपर्छ।
काेराेना संक्रमितकाे उपचारमा प्रयोग हुने स्टेरोइड औषधिले रगतमा ग्लुकोजको मात्र बढाएर रोगको प्रतिरोधात्मक क्षमता कम गरिदिने, भइरहेको मधुमेहीको रगतमा ग्लुकोज बढाइदिने, मधुमेहमा प्रयोग हुने ट्याबलेट औषधिले काम नगर्ने अवस्था ल्याँउछ र रगतको ग्लुकोजको मात्र नियन्त्रण गर्न दिइने इन्सुलिनको आवश्यकता बढेर जान्छ।
अस्पतालमा भर्ना हुँदासमेत नियमित सुगर परीक्षण र इन्सुलिनको मात्रा मिलाउन धेरै पटक बिरामीसँग घुलमिल हुन स्वास्थ्यकर्मीलाई समेत अप्ठ्यारो हुने हुनाले रगतमा ग्लुकोजको मात्रा तलमाथि भइरहन्छ। यो कोषिकाको लागि घातक मानिन्छ।
काेराेना संक्रमणकाे कारण अत्याधिक तनाव बढ्ने हुँदा ग्लुकोजको मात्रा अझ बढ्न जान्छ। मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो। यसमा काेराेना संक्रमण हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने गरेकाे छ। यसले मृत्युदर उच्च हुनसक्छ।
मधुमेही र अन्य व्याक्तिले काेराेनाविरुद्धमा लिने होसियारीमा खासै तात्विक अन्तर छैन। खानपिन र जिवनशैलीको तरिका पनि उही नै हो। मात्र मधुमेहीले लिनुपर्ने थप होसियारी आफ्नो रोग अनुसारको जिवनशौली अपनाउने, खतराका सुचकहरु पहिचान गरी चिकित्सक र स्वास्थ्यकर्मीको निगरानिमा रही रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्नुपर्ने हुन्छ।
आम जनमानसभन्दा बढी खतरा हुनेहुँदा सरकारले मधुमेहीहरुलाई काेराेनाविरुद्धको खोपमा प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ।
–(फिजिसियन डा अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।