काठमाडौं– सरकारले मुलुकका विभिन्न ७ स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको हो।
भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चालनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आर्थिक वर्षमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ।
सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ।
यस्तै काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ। यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग निर्माण गरिने भएको छ।
अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै जटिल प्रकारका सुरुङ निर्माणमा प्रयोग हुने उच्च प्रविधिका सुरुङ खन्ने मेसिन, भारी निर्माण उपरकण एवम् पूर्वाधार निर्माणमा प्रयोग हुने अन्य उपकरणसम्बन्धी सेवा उपलब्ध गराउन र ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन तथा निर्माणको समेत काम गर्न निजी क्षेत्रको समेत संलग्नतामा पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने सरकारको तयारी छ।
पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुलहरु कलात्मक बनाउन तथा रणनीतिक पूल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न ५ अर्ब २४ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।