काठमाडौं- सरकारले सामाजिक सुरक्षा योजनालाई बिमामा परिमार्जन गरेको छ। मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्ता रकम बिमामा परिमार्जन गरेको जनाएका हुन्।
सरकारले ७० प्रतिशतभन्दा माथिका ज्येष्ठ नागरिकको लागि एक लाख रुपैयाँ बिमांक रकम बराबरको स्वास्थ्य बिमाको शुल्क तिर्ने जनाएको छ। साथै सरकारी कर्मचारीको सावधिक जीवन बिमाको बिमांक वृद्धि गरी २ लाख पुर्याइको छ। डा खतिवडाले बिमा प्रिमियमको ५० प्रतिशत सरकार र ५० प्रतिशत सम्बन्धित कर्मचारीले बेहोर्ने व्यवस्था गरेको जनाएका छन्।
सरकारले बजेटमार्फत साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बिमा सीमा वृद्धि गरि ३ लाख रुपैयाँ पुर्याउने जनाएको छ। साथै धितोरहित प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा १० लाख रुपैयाँ पुर्याइनेछ।
सञ्चालित बिमा कम्पनीहरुले आगामी २ वर्षभित्र कूल बिमा कारोबारमध्ये लघु बिमाको कारोबार कम्तीमा १० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था बजेटमा गरिएको छ। यससँगै बिमा कम्पनीहरु अब कृषि तथा पशुपक्षी बिमामा केन्द्रित हुनुपर्ने भएको छ।
साथै बिमा कम्पनीहरुले बिमा लेखांकको कम्तीमा २० प्रतिशत अनिवार्य रुपमा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्नुपर्नेछ। सरकारले बिमा ऐनलाई समयानुकूल संशोधन गर्ने पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।