काठमाडौँ- बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवर्द्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ सुरु भएको छ।
१६ वर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पुर्याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ।
नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय उक्त बैठकमा दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएका विषयको कार्यान्वयन एवं प्रगतिबारे विचारविमर्श हुनेछ।
बिहीबार समापन हुने उक्त बैठकमा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली धागो बंगलादेशका बजारमा पुर्याउने र नेपाली विद्यार्थीले झेल्नुपरेका प्रवेशाज्ञासम्बन्धी समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले बताए।
नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकतोक चटगाउँ र मोंगाल बन्दरगाहसम्म जान दिनुपर्ने, व्यापार, पारवहन र दुवै देशलाई हवाई एवं सतहमार्गबाट जोड्दै तीमार्फत निरन्तर सम्पर्क, सम्बन्ध विस्तारलाई पनि आफूहरुले छलफलको अर्को मुख्य विषयवस्तु बनाएको नेपाली प्रतिनिधिमण्डलका सदस्यसमेत रहनुभएका उनले जनाकारी दिए।
बैठकको १८ बुँदे कार्यसूचीअनुसार दुवै देशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, ढाका–काठमाडौँ बससेवा सञ्चालन तथा नियमनसम्बन्धी व्यवस्था पुनरवलोकन, व्यापार विस्तारका निम्ति प्रशासनिक एवं अन्य प्रक्रियाको सरलीकरण, ट्रक र रेलबाट सम्पर्क विस्तार गर्ने र सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नति, बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय पारवहन सम्झौतामा दुवै देशका अधिकारीले छलफल गर्नेछन्।
त्यसैगरी, दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोध र स्यानिटरी एण्ड फ्याटोस्यानीटरीबीचको सम्मिलनका विषय पनि कार्यसूचीमा छ। स्थल र हवाईमार्गबाट बंगलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नेसम्बन्धी द्विपक्षीय प्रावधान कार्यसूचीमा समावेश गरिएको छ।
वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र उनका बंगलादेशी समकक्षी शुभाशिष बोस नेतृत्वको प्रतिनिधिमण्डलबीच नेपाल र बंगलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पुर्याउने, आपसी पर्यटन प्रवर्द्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बंगलादेशबीच जलविद्युत् उत्पादनका क्षेत्रमा साझेदारीबारे पनि विचारविमर्श हुनेछ।
जलविद्युत् उत्पादनका क्षेत्रमा द्विपक्षीय साझेदारी गर्न नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने मितिसमेत बैठकबाट निर्धारण हुन सक्ने बताइएको छ।
विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवर्द्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र उक्त समझदारीपत्रले निर्धारण गरेको प्रारुपअनुसार हुनेछ। उक्त समझदारीपत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुमोदन गरिसकेको छ।
नेपालले एक करोड अमेरिकी डलरबराबरका उत्पादन बंगलादेश निर्यात गर्दै आएको छ भने उताबाट चार करोड डलरका सामान आयात गर्दै आएको छ।
२२ सदस्यीय नेपाली र त्यसको ठ्याक्कै आधा बंगलादेशी अधिकारी सम्मिलित बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय व्यवस्था, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सहभागी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।