काठमाडौं- आफूलाई मनपर्ने कलाकार या सेलिब्रेटीलाई नजिकैबाट हेर्न कसलाई मन नहोला र? हलिउडका चर्चित गायक जस्टिन बिबरलाई हेर्न पनि एक हुल फ्यान उनको घर पुगेका थिए।
तर, यसरी आफूलाई हेर्न आएकाे मन नपर्ने उनले बताएका छन्। उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सुरुमा टिकटकमा पोष्ट गरिएको उक्त भिडियोमा एक हुल फ्यान जस्टिनको घर अगाडि बसिरहेका देखिन्छ। जस्टिन हाँस्दै आउँछन्। एक युवतीले जस्टिनलाई अँगालो मार्न मन लागेको बताउँछिन्।
जस्टिनले नम्र स्वरमा सम्झाउन थाल्छन्। उनले भिडियोमा भनेका छन्, ‘मैले तपाईंको कुरा सुन्दै छु। यो मेरो घर हो। यो त्यो ठाउँ हो, जहाँ म रहन्छु। यसरी तपाईंहरु यहाँ आएको मलाई राम्रो लाग्दैन। तपाईं बुझ्दै हुनुहुन्छ नि?’
जस्टिन अगाडि भन्छन्, ‘तपाईं जहाँ गएपनि अन्त्यमा त घरै गएर आराम गर्न मन लाग्छ। यो मेरो त्यही ठाउँ हो। त्यसैले तपाईंहरु यहाँबाट गएदेखि म खुशी हुने थिएँ।’
उनले बिस्तारै नम्र भएर फ्यानसँग कुरा गरेको सबैले मन पराएका छन्। यसअघि उनको उग्रपनका कारण धेरै फ्यानले चित्त दुखाएका थिए। एक हप्ताअघि टिकटकमा पोष्ट गरिएकाे भिडियो अहिले भाइरल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।