काठमाडौं– थेम्स थिएटर क्लव (वी याक्ट आउट) को अनलाइन नाट्य मनोवाद प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीको सहभागिता रहने अपेक्षासहित अनलाइन नाट्य प्रतियोगिता २.० सुरु भएको हो।
कोभिड १९ ले गर्दा नाट्य कार्य भौतिक रुपमा हुन सकेको छैन। कोभिडको जोखिमलाई मध्यनजर गर्दै अनलाइन प्रतियोगिता सुरु गरिएको आयोजकको भनाइ छ। अनलाइन श्रङ्खलाले रंगकर्मी, फिल्मकर्मी सबैकको समय सदुपयोग सँगै नाट्य क्षेत्र चलायमान बनाउने पनि आयोजकको अपेक्षा छ।
'अनलिस योर ड्रामाटिक कलर्स' नारासहित प्रतियोगिता सुरु भएको हो। यसको निर्णायकमा नाट्यकर्मी तथा फिल्मकर्मी दिया मास्के, बिजय बराल र दिलीप रानाभाट छन्। प्रतियोगितमा प्रथम हुने कलाकारले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रतियोगितामा भाग लिनका लागि १८ वर्ष उमेर पुगिसकेको हुनुपर्ने मापदण्ड तोकिएको छ। देश–विदेश जुनसुकै स्थानबाट पनि प्रतियोगितामा सहभागिता जनाउन पाइने अनलाइन नाट्य प्रतियोगितामा नेपाली आवेदकले १०० र विदेशी आवेदकले ५ अमेरिकी डलर प्रवेश शुल्क तिर्नुपर्नेछ। रकम अनलाइन या डिजिटल माध्यमबाट तिर्न सकिनेछ।
नाट्य सामाग्री २ मिनेटको हुनुपर्नेछ। त्यस्तै, जुन भाषामा पनि भिडियो बनाउन सकिनेछ, तर नेपाली, अंग्रेजी र हिन्दी बाहेकका भाषामा बनाइएको भिडियोको सबटाइलटल अनिवार्य राख्नुपर्ने आयोजकको भनाइ छ।
टिकटकले पनि ३ मिनेट सम्मको भिडियो बनाउन दिने भएकाले त्यहाँ बनाएका भिडियो भने स्वीकार हुने छैनन्। भिडियो बनाउँदा दृष्य र आवाज स्पष्ट हुनुपर्ने तथा भिडियो सिंगल सटमा खिचेको हुनु पर्नेछ। भिडियोमा ब्याकग्राउन्ड म्यूजिक र भ्वाइसओभर भने गर्न पाइनेछ। प्रतियोगतामा सहभागिता जनाउनेले ३१ जुलाइसम्म आ–आफ्नो भिडियो पेस गरिसक्नुपर्ने आयोजकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।