तालुकान– अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई एक अज्ञात सशस्त्र समूहले अपहरण गरेको छ।
प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिएका हुन्।
दर्काद जिल्लाको जिल्ला परिषद्का महिला उम्मेदवार फजिलालाई प्रान्तीय राजधानी तालुकान शहरमा अपहरण गरिएको बताइएको छ।
मङ्गलबार अपराह्न सरकारको विरोधमा लागेका आतङ्ककारी समूहले फजिला र उनका भाइ चढेको एक कारलाई अपहरण गरी अज्ञात स्थलमा लगेको बताइएको छ।
यस अपहरणमा कुन समूहको हात छ भन्ने बारेमा भने प्रष्ट भएको छैन। तर सरकारी अधिकारीहरुले भने तालिबान आतङ्ककारी समूहले यो अपहरण गरेको दाबी गरेका छन्।
महिला उम्मेदवार फजिला र उनका भाइलाई सुरक्षित अपहरण मुक्त गराउने प्रयास जारी रहेको पनि प्रवक्ता टिमुरीले जानकारी दिए।
दर्काद जिल्लामा नियन्त्रण जमाएर बसेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन्।
अफगान वोलेसी जिर्गा अर्थात संसदको तल्लो सदन र जिल्ला परिषद्को निर्वाचन आगामी अक्टोबर २० मा हुने तय भएको छ।
यस निर्वाचनका लागि गत अप्रिलबाट मतदाताको नामावली दर्ता हुन सुरु भएको थियो। मतदाता नामावली दर्ता केन्द्रमा पनि एक दर्जनभन्दा बढी आतङ्ककारी आक्रमण भइसकेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।