वासिङ्टन– आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जाँदैछन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लागेका हुन्।
उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग गर्न लागेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ। त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय–समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन्।
जापानी प्रधानमन्त्री आबेको यस भ्रमणपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना हुने बताइएको छ। उनीहरुबीचको द्विपक्षीय वार्ता बिहीबारै हुने छ।
उक्त वार्ताको क्रममा विशेषगरी किम–ट्रम्प शिखर बैठकको बारेमा जापान र अमेरिकाको धारणा बुझ्ने काम हुने बताइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यस विषयमा दोस्रो पटक जापानी प्रधानमन्त्रीको धारणा बुझ्न खोजेका हुन्।
अमेरिका र उत्तर कोरियाबीचमा वार्ता हुने भनिएपछि जापानी प्रधानमन्त्रीले दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।