इस्लामावाद– पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका परिवर्तन गरेको छ।
आम निर्वाचनको कार्यतालिका परिवर्तन गरेपनि मतदान हुने दिन भने परिवर्तन नगरिएको आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
नयाँ तालिका अनुसार जुन ११ सम्म नेताहरूले उम्मेदवारी दर्ता गर्न पाउने भएका छन्।
त्यसैगरी जुन १४ देखि १९ सम्म उम्मेदवारीपत्रमाथि छानविन हुने तालिका छ भने २२ सम्म उम्मेदवारविरुद्ध दावी विरोध गर्न पाइने तालिका बनाइएको छ।
जुन २९ मा उम्मेदवारी फिर्ता लिने र ३० तारिखमा निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ। मतदान भने जुलाई २५ का दिन हुनेगरी तय गरिएको छ।
यसैबीच पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफले पूर्व सैनिक शासक जनरल परवेज मुसरफलाई ससर्त निर्वाचन लड्न दिने सङ्केत आएको भन्दै यसको विरोध गरेका छन्।
राजद्रोह जस्तो गम्भीर प्रकृतिको मुद्धा लागेका मुसरफलाई ससर्त उम्मेदवार बन्न पाउने व्यवस्था गरिएमा यो पाकिस्तानको संविधान विपरीत हुने उनको तर्क छ।
पाकिस्तानको सर्वोच्च अदालतले पेशावार उच्च अदालतको फैसलाको पुनरावलोकन गर्न मुसरफलाई यही जुन १३ मा अदालतमा उपस्थित हुन आदेश दिएको थियो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।