काठमाडौं– बेञ्च–बार समन्वय समितिको बैठकका सहभागीहरुले संवैधानिक इजलासका सन्दर्भमा देखिएको विवादका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नै अग्रसर हुनुपर्ने बताएका छन्। प्रधानन्यायाधीश राणाले नै बोलाएको बैठकमा सहभागी भएका नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिहरुले विवाद समाधानका लागि अग्रसर हुन राणालाई आग्रह गरेका हुन्।
नेपाल बार र सर्वोच्च बारको प्रतिनिधित्व गरेर बैठकमा सहभागी वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीशबाटै विवाद सुरु भएकाले निकास दिन पनि प्रधानन्यायाधीश नै अग्रसर हुनुपर्ने सुझाव दिएका हुन्।
बेञ्च–बार समन्वय बैठकमा सर्वोच्चबाट प्रधानन्यायाधीश राणासहित वरिष्ठतम् ३ जना न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का र हरिकृष्ण कार्की सहभागी थिए। नेपाल बार र सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, पूर्णमान शाक्य सहभागी भएका थिए। यस्तै, महान्यायाधीवक्ता खम्वबहादुर खाती र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँबर पनि समन्वय समितिको बैठकमा सहभागी थिए।
बारका प्रतिनिधिहरुले न्यायाधीश हरि फुयाँलको भदौ १७ गतेको एकल इजलासबाट भएको आदेशका बारेमा धेरै प्रश्न उठेको भन्दै राणाको ध्यानाकर्षण गराएका थिए। शम्भु थापा र हरिहर दाहालले अदालतको आदेशमा यसरी प्रश्न उठ्नु दु:खद भएको भन्दै यस्ता विवादहरु आउन नदिनेतर्फ अदालत सचेत हुनुपर्ने बताएका थिए।
एकल इजलासले संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेश हुँदा त्यसले सिर्जना गरेको बहसले न्यायालयलाई क्षति पुर्याएको उनीहरुको तर्क थियो।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले समन्वय समितिको बैठकमा संवैधानिक इजलासको विवादमा निकास दिनेतर्फ दुवै पक्षका बीचमा समझदारी बनेको बताए। शाक्यले अब यो विवादको सुनुवाइ पनि संवैधानिक इजलासबाटै गर्न र छिट्टै टुंग्याउन आग्रह गरेको बताए ।
‘यो विवादमा छिट्टै निकास दिनुपर्ने भएकाले हामीले छिटो सुनुवाइ गरि टुंग्याउन र न्यायाधीश फुयाँलको इजलासले गरेको आदेशको समेत संवैधानिक ब्याख्या गर्नुपर्ने भएकाले ढिला नगर्न सुझाव दियौं,’ शाक्यले भने, ‘प्रधानन्यायाधीश राणाले सकारात्मक रहेको भन्दै यसलाई छिट्टै निकास दिने पक्षमा आफू रहेको बताउनुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।