जनकपुरधाम– प्रदेश २ ले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गरेको छ। शुक्रबार उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७५/०७६ का लागि २९ अर्ब ७१ करोड ७७ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरे।
कूल बजेटमध्ये चालूतर्फ १४ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो बजेटको ४८ दशमलब ६० प्रतिशत हो। त्यस्तै, पुँजीगत तर्फ ५१ दशमलब ४० प्रतिशत बजेट विनियोजन गरिएको छ। यो १५ अर्ब ३१ करोड १३ लाख २५ हजार रुपैयाँ हो।
प्रदेश २ मा कृषिमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ। कृषि तथा चुरे क्षेत्रको किसानका लागि १ अर्ब ४४ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ।
‘हर खेतमे पानी हर हाथमे काम’ योजनाका लागि ५२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रमा कर नलाग्ने व्यवस्था गरेको छ। मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, मुख्यमन्त्री राहत र पुनःस्थापन कोषमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा सांसदको योजनामा खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरिएको हो।
प्रदेश सरकारले सडक निर्माणमा १ अर्ब २६ करोड रुपैयाँ, निःशुल्क दलित शिक्षा र छात्रावास निर्माणका लागि ८ जिल्लामा ८ करोड रुपैयाँ, ‘खिलेगा मधेस, खेलेगा मधेस’ नारा दिई युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन ९ करोड ७४ लाख रुपैयाँ र युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
मिथिला मध्यमा परिक्रमाको क्रममा राम जानकीको डोला रहने स्थानहरुमा वास स्थान बनाउनका लागि १ करोड २० लाख रुपैयाँ, सगरमाथा आरोहणका लागि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सिरहा माई स्थित प्रयोग गरेको सडकमा तेन्जिङ हिलारी प्रवेशद्वार निर्माणका लागि १ करोड रुपैयाँ, घर–घरमा सुपानेट झुल वितरण गर्नका लागि ५ करोड रुपैयाँ र राजर्षि जनक विश्व विद्यालयको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यताका लागि १ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ।
आज प्रस्तुत गरिएको बजेट टेबुल हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसद अवरुद्ध गरेका थिए। सत्ता साझेदार राजपाका सांसदले भने बजेटप्रति असन्तुष्टि व्यक्त गरे पनि संसद्मा अवरोध भने गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।