काठमाडौं - संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बुस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू सुरु गर्न लागेको छ।
यस बारे जानकारी दिँदै राष्ट्रपति जो बाइडेनले भने, 'आज म घोषणा गर्दैछु कि हामी देशभर सयौं नयाँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्दैछौं। यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन्। जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन्।'
राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भने, 'क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन्। यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन्।'
राष्ट्रपति बाइडेनद्वारा कोभिड-१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न संघीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो। सरकारको पाँच-बुँदे योजनामा राष्ट्रव्यापी खोप विस्तार गर्ने र बुस्टरको पहुँच, कोभिड-१९ परीक्षण पहुँच विस्तार गर्ने, सरकारको प्रतिक्रिया टोलीलाई बलियो बनाउने र बाँकी विश्वलाई खोप लगाउने प्रयासलाई गति दिने लगायतका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।