काठमाडौं– टेकुस्थित कौसी थिएटरमा यति बेला उपन्यासकार जर्ज अर्वेलका ‘जनावरहरू’ हुल बाँधेर बसेका छन्। उता बत्तीसपुतलीस्थित शिल्पी थिएटर समलिंगीको प्रेममा डुबेको छ। कोभिडपछाडि सुनसान भएका थिएटरहरू चलायमान भएका छन्।
अब थिएटरहरूमा दर्शकको भौतिक उपस्थिति फर्किएको छ। उपत्यकाका सबैजसो रंगमञ्च सक्रिय भएका छन्। कौसी थिएटरमा जर्ज अर्वेलले तत्कालीन सोभियत संघको साम्यवादी शासनलाई धज्जी उडाउन लेखेको उपन्यास ‘एनिमल फार्म’माथि आधारित नाटक मञ्चन भइरहेको छ। मंसिर १४ गतेबाट मञ्चन सुरु भएको नाटकलाई भारतीय मूलका लेखक भरत कुमारले नाट्य रुपान्तरण गरेका हुन्। नेपालीमा अनुवाद र निर्देशन आकांक्षा कार्कीले गरेकी छिन्।
नाटकमा जनावरहरू मानिसविरुद्ध विद्रोह गरिरहेका छन्। मानिस (मालिक) ले आफूहरुलाई अन्याय गरेको भन्दै एउटा बूढो सुँगुर विद्रोहको लागि विगुल फुक्न खोजिरहेको छ। मानिसहरुकै चरित्र बाँचिरहेका पशुहरुलाई स्टेजमा उतार्न मुखौटा (हेडगियर) प्रयोग गरिएका छन्।

सन् १९४५ मा लेखिएको अर्वेलको लघु उपन्यास ‘एनिमल फार्म’मा राजनीतिक व्यंग्य छ। अर्वेलले कल्पना गरेको एउटा फार्म र त्यो फार्ममा राखिएका भेडा, सुँगुर, गाईजस्ता जनावरले मान्छले जस्तै क्रान्तिका गफ र राजनीति गरिरहेका हुन्छन्।
अर्वेल आफैँले पनि उपन्यासमा सोभियत क्रान्ति र त्यहाँको ‘स्टालिन युग’लाई प्रतिबिम्बित गर्न खोजेको बताएका थिए। स्टालिनको शासनकालमा धेरै निर्दोष मान्छेहरु मारिएको आरोप थियो। त्यसैको विरोधस्वरुप उनले मानिसहरुलाई जनावरको रुपमा प्रस्तुत गरे। तर, उपन्यासमा मानवीय गुण भएका जनावरहरुमा पनि असमानता छ। जनावर पनि सत्तामा पुग्न राजनीतिक षडयन्त्र गरिरहेका हुन्छन्।
नाटकमा उपन्यासको मूल कथासँगै वर्तमान राजनीतिक परिवेशमाथि टिप्पणी गर्ने आवश्यक सन्दर्भ जोडिएका छन्। सन् १९४५ मा लेखिएको उपन्यास अहिलेको राजनीतिक परिवेशमा मेल खान्छ। जसरी जनताबाट चुनिएका नेताहरूले देशलाई संसारकै समृद्ध देश भएको (वा बनाउने) घोषणा गर्छन्, त्यसरी नै नाटकमा पनि जनावर नेताहरू आफ्नो फार्मलाई समृद्ध घोषणा गर्छन्।
अहिलेको राजनीतिक परिवेशबीच जनताबारे नसोच्ने नेता, माओवादी युद्धका बेला रगत बगाएर अहिले न्यायका लागि माइतीघरमा अनसन बसिरहेका पूर्वलडाकु, कोरोना महामारीबीच जनताले खाद्यान्न नपाउँदा सामाजिक सञ्जालमा मासु पाकाएको तस्बिर राख्नेलगायत असमान अवस्थाबारे नाटकले बोलेको छ। नाटकमा आकांक्षाको निर्देशन बयानयोग्य छ। इंगीहोपो कोइच सुनुवारले गरेको प्रकाश संयोजन गजब छ। नाटकमा समावेश दुई गीतहरुले यसलाई थप सान्दर्भिक बनाएका छन्।
उता शिल्पी थिएटरमा भने सन् १९९० को दशकमा पहिलो पटक अमेरिकाको न्युयोर्क शहरस्थित ‘द पब्लिक थिएटर’मा मञ्चन गरिएको नाटक ‘स्टप किस’ चलिरहेको छ। तत्कालीन अमेरिकी समाजमा थुप्रै समलिंगीहरूले आफ्नो परिचय सार्वजनिक गरेका थिए। त्यसअघि गुपचुप भएको आफ्नो पहिचानलाई ९० को दशकमा उनीहरुले खुलेआम प्रस्तुत गरे।

पुरुष र पुरुष तथा महिला र महीलाबीचको सम्बन्ध खुलेआम हुनथाल्यो। तर, समाजले त्यसलाई अस्वाभाविक मान्यो। समाजको विपक्षमा उभिनेहरुले वैचारिक रुपमा विद्रोह गरे। त्यसैको प्रतिफलको रुपमा डायना सनले ‘स्टप किस’ लेखेकी थिइन्। उक्त नाटक अहिलेसम्म धेरै देशमा मञ्चन भइसकेको छ। यो नाटकलाई शिल्पीसम्म भने लुनिभा तुलाधर र उनको टिमले ल्याएको हो। लोनिभा यो नाटककी निर्देशक हुन्।
९० को दशकमा अमेरिकी समाज जुन अवस्थामा थियो, नेपाली समाज अहिले पनि त्योभन्दा धेरै पछाडि छ। समलिंगी, तेस्रोलिंगीलगायतका यौनिक अल्पसंख्यक र सिमान्तकृत लिंगप्रति नेपाली समाजमा देखिने व्यवहार मानवीय छैन। सामाजिक सञ्जालमा सरोज तामाङहरुलाई जिस्काइने होस् वा सडकमा हिँड्दा निकिशा श्रेष्ठहरुमाथि हुने हिंसा होस्, यौनिक अल्पसंख्यकमाथि हिंसाभइरहेकै छ। त्यस्तो हिंसालाई ‘रमाइलो’ रूपमा लिने जमात ठूलो छ।
मंसिर ९ गतेबाट शिल्पीमा मञ्चन भइरहेको नाटक २३ वर्षपछि नेपाल आइपुगेको हो। पहिलो पटक यो नाटक सन् १९९८ मा मञ्चन भएको थियो। अहिले पनि यो नाटक निकै सान्दर्भिक लाग्छ।
वास्तवमा यो नाटक यौनिक अल्पसंख्यकप्रति ‘घृणा’ जनाउने सोचमाथिको हस्तक्षेप नै हो। तीन वर्षअघि २०७५ पुसमा सागर चन्दको अनुवादमा भारतीय लेखक विजय तेन्दुलकरको नाटक ‘मित्राची गोष्ट’ प्रदर्शन भएको थियो। उक्त नाटकलाई रेनुका कार्कीले निर्देशन गरेकी थिइन्। नाटकमा समलिंगी प्रेम र प्रेम प्राप्तिको कथालाई देखाइएको थियो। त्यही साल मण्डला नाटकघरमा मञ्चन भएको ‘जिउँदो आकाश’ नाटकमा पनि लैंगिक पहिचानको विषय देखाइएको थियो।
‘स्टप किस’ विषयवस्तुका हिसाबले नेपाली रंगमञ्चमा भइरहेका अन्य नाटकभन्दा फरक कथामा छ। नाटकमा सारा (समापिका गौतम) र केली (रञ्जना भट्टराई) बीचको प्रेम छ। संकुचित सोच र समाजबीच आफ्नै लिंगको मानिसलाई प्रेम गर्दाको प्रतिफलको रुपमा के हुन्छ भन्ने कथा नाटकमा प्रस्तुत छ।
आफ्नो जागिरबाट बेखुस रेडियो ट्राफिक पत्रकार रहेकी केली र न्युयोर्क प्रवेश गरेकी सारा एकअर्कासँगको मित्रतालाई अर्को उचाइमा लगिरहेका हुन्छन्। एकअर्कालाई भेटेपछि नजिकिएका उनीहरु आफ्नो परिवार, प्रेमी, जागिर र आफू वरपरका वातावरणमा भुल्छन्। ‘ग्लास–मेट’ बनेका उनीहरु कतिबेला एकअर्काको प्रेममा पर्छन्, उनीहरुलाई पत्तै हुँदैन।
अमेरिकी समाजमा त्योबेला समलिंगी प्रेम वर्जित थिएन, तर स्वीकार्य हुन असहज थियो। प्रेमको उत्सव मनाइरहेका उनीहरू एकअर्कासँगको पहिलो ‘किस’का क्रममा त्यही असहज परिस्थितिको सामना गर्न पुग्छन्। उनीहरूमाथि कुटपिट हुन्छ। केली सामान्य चोटपटकबाट गुज्रिन्छिन्, सारा कोमामा पुग्छिन्। प्रेमको उत्सवले ‘उत्सव’को रुप लिन नपाउँदै उनीहरु पीडामा डुब्छन्।
त्यसपछिका घटनाहरुमा पनि आफ्नो पहिचानबारे केलीले बोल्न सक्दिनन्। जासुस कोले (सुश्रुत आचार्य)को सामुन्ने उनी आफू खुल्न सक्दिनन्, किनकि सामाजिक रुपमा उनको पहिचान र सम्बन्धलाई सहजै लिइदैन।
नाटकमा देखाइएका दृश्य र घटनाहरू नेपाली समाजसँग मेल खान्छन्। लुनिभाको निर्देशनले महिलाहिंसाको मात्र चर्चा भइरहेको बेला तेस्रोलिंगी वा यौनिक अल्पसंख्यकमाथिको हिंसाबारे पनि सोच्न बाध्य बनाउँछ। आफ्नो पहिचानका लागि संघर्षरत समुदायको कथासँगै प्रेमको फरक र वृहत आयामलाई यो नाटकमा देखाइएको छ।
‘स्टप किस’ शिल्पीमा शनिबारसम्म मञ्चन हुनेछ। ‘एमिमन फार्म’ कौसी थिएटरमा पुष ३ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।