कोलोम्बो- घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लोपटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको हो।
श्रीलंकाको स्वास्थ्य मन्त्रालयले उक्त कुराको जानकारी दिएको हो। मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंका आएका एक जना व्यक्तिमा उक्त भाइरस देखिएको बताइएको छ।
उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। यहीँ उनको उपचार भइरहेको बताइएको छ। तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ। अमेरिकाको न्युयोर्क सहरमा पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए।
उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए। यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो। यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ। अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।