काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी र महाधिवेशन प्रतिनिधिहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण हुने भएको छ। महाधिवेशन स्थलमा कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको कांग्रेसले जनाएको छ।
नेता मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित महाधिवेशन स्वास्थ्य समितिले यसको व्यवस्थापन गरिरहेको हो।
काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशन आज उद्घाटन भएको छ।
महाधिवेशन उद्घाटन स्थलमा कांग्रेसले स्वास्थ्य डेस्क राखेको छ। जहाँ ३० जना भन्दा बढी चिकित्सक तथा स्टाफ नर्सहरु रहेको स्वास्थ्य समितिले जनाएको छ। स्वास्थ्य प्राविधिक टोली बाहेक अन्य ५० भन्दा बढी स्वयं सेवक खटिएको समितिले जनाएको छ।
समितिका सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य डेस्कका चिकित्सकको सल्लाह अनुसार एन्टिजेन परीक्षण गर्ने, कसैलाई थप स्वास्थ्य उपचार चाहिएमा वीर अस्पतालमा लैजाने व्यवस्थापन गरिएको छ।
उनले वीर अस्पतालमा पनि चिकित्सकको टोली बनाइएको र त्यहाँ इसिजिलगायतका सेवा उपलब्ध गराउने गरी तयारी गरिएको बताए। उनले कुनै बिरामीलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा विशेषज्ञ अस्पतालहरुमा रेफर गर्ने गरी व्यवस्था मिलाएको बताए।
महाधिवेशनस्थलमा प्राथमिक उपचार सेवा दिनुका साथै आवश्यक औषधि तथा एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ। भने, रक्तदान गर्नका लागि समेत व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।