काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतन्त्रको मूल्य मान्यतामा हिँडाउने कोसिस गर्ने बताएका छन्। एमाले बागमती प्रदेशको बधाई कार्यक्रममा बोल्दै उनले कांग्रेस आधारभूत रुपमा लोकतान्त्रिक पार्टी भनिए पनि त्यतातर्फ हिँडाउने कोसिस आफूले गर्ने बताए।
उनले भने, 'कांग्रेस पुरानो पार्टी हो। आधारभूत रुपमा लोकतान्त्रिक भनिने पार्टी हो। त्यो पार्टीलाई पनि लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउन कोसिस गर्नु हाम्रो कर्तव्य हुन्छ नत्र एक्लै हुन्छौं।'
उनले मन्तव्य छोट्याउने क्रममा आफू कांग्रेसको १४औं महाधिवेशन उद्घाटन कार्यक्रममा जान हतारिएको उल्लेख गरे। एमाले र कांग्रेसमात्रै देशका राजनीतिक पार्टी भएकोसमेत सम्झाउनुपर्ने उल्लेख गरे।
कांग्रेस र एमाले 'तारा' रहेको र अरु पार्टी 'स्याटालाइट' भएको बताए। उनले भने, 'कांग्रेस र एमाले पार्टी हुन्। अरु त राजनीतिक पार्टी नै होइनन्। तारोजस्तो सुलुलु बगेको हुन्छ। ताराजस्तै राति देखिन्छ बत्ती बलेको। त्यो तारा नभइ स्याटलाइट हो। त्यस्तै नेपालमा कतिपय स्याटलाइट छन्। पार्टी एउटा नेकपा (एमाले) हो । त्यसपछि कांग्रेस नै हो। अरु त बन्छन् र फेरि बिलाउँछन्।'
एमालेसँग देशको प्रमुख अभिभारा रहेको बताउँदै त्यो पनि कांग्रेसलाई उसकै कार्यक्रममा पुगेर सम्झाएर आउने ओलीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।