फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा एकमात्र उम्मेदवार चयन गर्न नसकेपछि आफू राजनीतिको दलदलबाट बाहिर बस्ने बताएका छन्।
आफ्नो समूहका नेताहरुले 'म पनि लड्छु, म पनि लड्छु’ भनेकोप्रति दिक्क सुनिएका उनले आफ्नो निवासमा भने, 'मैले साथीहरुलाई धेरै कोसिस गरेँ। तपाईंहरु एक जना भइदिनुस्। म सहयोग गर्छु। खुलेर सहयोग गर्छु। तर अन्तिममा दुई जना साथीहरुको बीचमा सहमति भएन।'
पौडेलले शशांक कोइरालाले आफूलाई समर्थन गर्ने र आफूलाई नै लिएर जानुपर्छ भनेको भए पनि शेखर कोइराला र प्रकाशमानले सभापतिमा लड्ने भनेर अड्डी लिएको बताए।
'उहाँहरुसँग धेरै चरणमा मैले कुरा गरेँ। या त तपाईंहरु दुई जना मिलेर मलाई सहयोग गर्नुस्। या त तपाईंहरु दुई जनामध्ये को हुने हो हुनुस्। म तपाईंहरुलाई सहयोग गर्छु। एक जना हुनुभयो भने सहयोग गर्छु भनेँ। तर उहाँहरु त्यसको लागि पनि तयार हुनुभएन,’ पौडेलले भने।
सबै सन्दर्भ सुनाएपछि उनी भावुक भए र भने, 'भइगयो त तपाईंहरु लड्नुस्। मचाहिँ यस्तो अवस्थामा म यो दलदलभन्दा बाहिर रहन चाहन्छु। दलदलमा फस्न चाहन्नँ भन्ने कुरा मैले भनेकै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।