काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा समूह छाडेका छन्। संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौलापक्षबाट महामन्त्रीको उम्मेदवार आउने भएपछि शर्माले देउवापक्ष छाड्ने तयारी गरेको एक नेताले बताए।
१३औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवा पक्षमा रहेका प्रवक्ता शर्माले १४औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। तर, संस्थापन पक्षले सिटौला समूहसँग गठबन्धन गर्दै प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूह त्याग्ने निश्चित भएको ती नेताको भनाइ छ।
शर्मा देउवा समूह छाडेर शेखर कोइरालाको प्यानलमा जाने तयारी गरेको ती नेताले बताए। शर्माले नेपाल लाइभसँगको कुराकानीमा यसबारे बताउन चाहेनन्। आफ्नो समूहभित्र समस्या आएको बताउँदै उनले अहिले नयाँ हिसाबले छलफल भइरहेको प्रतिक्रिया दिए।
प्रवक्ता शर्मा अहिले झापासहितका विभिन्न जिल्लाका आफू पक्षीय महाधिवेशन प्रतिनिधिहरूसँगको छलफलमा छन्। छलफलको निष्कर्ष आएपछि टुंगोमा पुग्ने शर्मा समूहका नेताहरूले बताएका छन्।
झापाका दुई कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माबीच सहज सम्बन्ध छैन। जिल्लामा दुई ध्रुवको राजनीति गर्दे आएका उनीहरुबीच केन्द्रमा पनि फरक-फरक गुट थियो। तर, सिटौला र शेरबहादुर देउवाबीच गठबन्धनको प्रयास अन्तिम चरणमा पुगेको छ। यसअघि देउवासँग रहँदै आएका शर्मा सिटौलाको ‘इन्ट्री’सँगै बाहिरिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।