काठमाडौं- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत अहिले उम्मेदवारी मनोनयन चलिरहेको छ। राष्ट्रिय सभा गृहमा जारी मनोनयन दर्ताको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ।
तर, नेताहरुबीच उम्मेदवारी दिने र गठबन्धन बनाउने विषयमा छलफल जारी रहेकाले उम्मेदवारी दर्ताको समय बढ्न सक्ने अनुमान गरिएको छ।
पार्टीबाट दबाब आउन सक्ने भएपछि निर्वाचन समितिले शीर्ष तहका नेताहरुलाई फोन गरेर समय बढाउन नसकिने जानकारी गराइसकेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।
'तोकिएको समय पाँच बजे भित्र कल्याण गुरुङको मात्रै उम्मेदवारी पर्यो भने हामी के गर्ने? कानूनी रूपमा उनी सभापति हुन्छ्न्। हामीलाई विपक्षी बनाएर अदालत गए भने पनि हामी पराजित हुने अवस्था हुन्छ। त्यसकारण हामीले समय बढाउनै नसक्ने जानकारी गराएका छौं' उनले भने।
अहिलेसम्म सभापति र पदाधिकारीमा चर्चामा रहेका कुनै पनि शीर्ष नेताले उम्मेदवारी मनोनयन गरेका छैनन्। उनीहरुले बैंक भौचरसमेत भरेका छैनन्।
मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको कांग्रेसले जनाएको छ।
निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।
मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ। पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलीपल्टै पुनः मतदान हुनेछ। सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिए। यस पटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ।
मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ। कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ। पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।