काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा नयाँनयाँ प्यालनको सम्भावना विकास हुँदै गएको छ। शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाबीच गठबन्धनको अन्तिम तयारी भएसँगै त्यसको परकम्प देखिएको छ।
लामो समयदेखि देउवासँगै रहँदै आएका विश्वप्रकाश शर्माले सो समूहबाट विद्रोह गरेका छन्। सो समूहबाट बाहिरिएसँगै उनी र गगन थापा एउटै समूहबाट महामन्त्रीको उम्मेदवार हुने सम्भावना बढेको छ।
पौडेल समूहबाट एक मात्र साझा उम्मेदवार बनाउन नसकिएको भए पनि शेखर कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरिएको छ। शेखरको प्यानलमा गगन र विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरिएको एक नेताले बताए।
गगन र विश्वप्रकाश दुवैले पहिल्यै स्वतन्त्र रुपमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
उता देउवाले प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरेका छन्। उनको प्यानलबाट महामन्त्रीमा अर्को उम्मेदवार सिटौला समूहका प्रदीप पौडेललाई बनाउने तयारी छ।
यद्यपि, शेखरको प्यानलबाटै महामन्त्रीको उम्मेदवार बन्ने तयारी मिनेन्द्र रिजालको पनि छ। उनको व्यवस्थापन कसरी हुने टुंगो लागेको छैन। उनलाई उपसभापति बन्न प्रस्ताव गरिएको नेताहरुको भनाइ छ।
यसअघि रामचन्द्र पौडेल समूहमा रहेका प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। उनले उपसभापतिमा सुजाता कोइरालालाई अघि सारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।