काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग रहेन निर्णय गरेको बताएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो बनेको उल्लेख गर्दै पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको बताए।
उनले महाधिवेशन प्रतिनिधिहरुलाई लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्य जोगाउन अपिल गरेका छन्।
'म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु' नेता पौडेलले विज्ञप्तिमा भनेका छन्, 'मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ।'
उनले पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर संस्थापकहरु वीपी गणेशमान र कष्णप्रसाद भट्टराईले जीवन भर लडेको भए पनि आज निर्थक हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
'पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू वीपी, गणेशमान र किशुनजीले आर्दश र मूल्यका लागि जीवनभर लड्नु भयो, सङ्घर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ' उनले विज्ञप्तिमा भनेका छन्, 'कांग्रेसलाई आज केवल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ। त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।'
चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उनले उल्लेख गरेका छन्।
'प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें' पौडेलले भनेका छन्, 'तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृती र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु।'
लोकतन्त्रप्रति आस्थावान् कांग्रेसजन र विशेषगरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने विश्वास पौडेलले लिएका छन्।
महाधिवेशनमा प्रतिस्पर्धा नगरेपनि राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने पौडेलले जनाएका छन्।
'प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु' पौडेलले विज्ञप्तिमा भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।