काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब अनुभव नभएका र भएका दुवै व्यक्तिबाट पार्टी सञ्चाल हुन सक्ने देखिएको दाबी गरेका छन्। उनले सभापति शेरबहादुर देउवा र शेखर कोइरालाप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले शेरबहादुर देउवासँग अनुभव भएको तर काम नलाग्ने पुष्टि भएको र शेखरसँग अनुभव नै नभएको दाबी गरे। नेतृत्व परिर्वतन गर्न सकेनौं भने नेपाली कांग्रेस अप्ठारोमा पर्छ।
आफूले १३ औं महाधिवेशनदेखि नै हुन नसकेको कामबारे कार्यसमिति बैठकमा उठाउँदै आएको उनले बताए। ‘नेपाली कांग्रेसलाई यही अवस्थामा राख्ने हो भने धेरै अप्ठेरो अवस्था आउने देखियो,’ उनले भने, ‘अब मतपत्र हातमा लिँदा पुराना वा अनुभव नभएकालाई दिँदा के होला भनी सोच्नुहुन्छ भन्ने लिएको छु।’
अनुभवले मात्र नहुने भन्दै उनले अन्य धेरै कुरा पनि आवश्यक पर्ने बताए। अवसरमा गरेर देखाउने, मिलाउन सक्ने र संकटमा नेतृत्व दिनसक्ने क्षमता भएको व्यक्ति नेतृत्वमा आउनुपर्र्ने उनले दाबी गरे। प्रतिनिधिले चाहेको नेतृत्व परिर्वतनको चाहना पूरा गर्न आफूलाई मतदान गर्नुपर्ने उनले बताए।
क्रियाशील सदस्यता वितरणमा गलत कार्य भएको बताउँदै उनले अन्याय गर्नेलाई जिताउन नहुने दाबी गरे। ‘विधि र प्रक्रियाअनुसार कांग्रेसमा काम गर्छु भन्नेहरुलाई क्रियाशिल सदस्यता नदिई अन्याय गर्नेलाई जिताउनु हँुदैन,’ उनले भने, ‘आन्तरिक प्रजातन्त्रको अभ्यास गर्दासमेत धाँधली नगर्नेलाई मत दिएर जिताउनु हुँदैन।’
पार्टीमा नेतृत्व परिर्वतनको अवसर आएकाले यसलाई सदुपयोग गर्नसमेत उनले आग्रह गरे। कांग्रेस कमजोर भएकै कारण कम्युनिष्टहरुले प्रतिनिधि सभा विघटनको आँट गरेको आरोपसमेत उनले लगाए। केन्द्रीय समिति बैठकबाट भएको निर्णयसमेत पार्टी सभापतिलेस्वीकार गरेर गलत शैली देखाएको आरोपसमेत उनले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।