काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा कुनै पनि प्यानलमा अटेका छैनन्।
सभापति शेरबहादुर देउवा पक्षबाटै महामन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेका शर्मा त्यहाँ अट्न सकेनन्। देउवाको प्यानलमा अट्न नसकेपछि इतर पक्षका प्यानलबाट महामन्त्रीमा उठ्ने चर्चा चलेको थियो।
नेता डा शेखर कोइराला नेतृत्वको प्यानलबाट शर्मा महामन्त्रीको उम्मेदवार हुने चर्चा पनि चलेको थियो। तर, डा कोइरालाको प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन्।
उम्मेदवारी दर्ताको समय घर्किँदै जाँदा शर्मा कुन प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्छन् भन्ने टुंगो लाग्न सकेको छैन।
यद्यपि नेता प्रकाशमान सिंहको प्यानलमा महामन्त्रीको उम्मेदवारका लागि 'स्थान' खाली छ। तर, शर्मा निकट नेताहरु भने उनी प्रकाशमानको प्यानलमा जाने सम्भावना कमै रहेको बताउँछन्।
'उम्मेदवारी दर्ताका लागि प्यानलमै अटाउनुपर्छ भन्ने छैन। उहाँप्रति सबैको सुभेच्छा छ,' शर्मा निकट एक महाधिवेशन प्रतिनिधिले भने, 'उहाँले स्वतन्त्र रुपमा पनि महामन्त्रीको उम्मेदवारी दिन सक्नुहुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।