काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरका सभापतिमा आधिकारिक उम्मेदवार शेखर कोइराला बनेका छन्। इतरपक्षका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखरलाई सघाउने बताएका छन्।
सभातिका प्रत्यासी शेखर कोइरालालाई समर्थन गर्दै उनको प्यानल बनाउन पौडेल र शशांकले सघाएका छन्। मेरियट होटेलमा शेखरका साथै पौडेल र शशांक बसेर पदाधिकारीको सूची बनाएका हुन्।
शेखरको प्यानलमा शशांकनिकट मिनेन्द्र रिजाल महामन्त्री बनेका छन्। अर्का महामन्त्रीका उम्मेदवार गगन थापा १३औं अधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्री उठेपनि त्यसपछि पौडेलसमूहसँगै निकट छन्।
यसैगरी १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग रहेका चन्द्र भण्डारी शेखरको टिमबाट उपसभापतिका उम्मेदवार छन्। प्रतिनिधि सभाको निर्वाचनपछि देउवाले पार्टी बिगारेको भन्दै उनले साथ छाडेका थिए।
उपसभापति धनराज गुरुङका साथै सह–महामन्त्रीका उम्मेदवारहरु देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकाश लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ पौडेलनिकट नेताहरु हुन्।
संस्थापनइतरबाटै सभापतिका उम्मेदवार बनेका प्रकाशमान सिंहले भने उपसभापतिकी उम्मेदवार सुजाता कोइरालाको मात्रै साथ पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।