काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
उनले आफू नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भएकाले सिंह उभिएको ठाउँमा आफू पनि उभिने बताए।
यसअघि मंगलबार बिहान देउवासँगको भेटमा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।
शर्माले अब नेतृत्व चयनमा सर्वसम्मति गर्न सके राम्रो हुने पनि बताएका छन्।
'सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ। पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो', शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।'
कांग्रेस सभापतिका लागि सोमबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा अब दोस्रो चरणमा निर्वाचन हुने भएको छ।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए।
सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण गुरुङले २० मत पाए। विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।
कांग्रेसको निर्वाचन समितिले दिउँसो साढे ३ देखि बेलुका साढे ७ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।