काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। र, यसअघि गठबन्धन गरेका शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको गठबन्धन दोस्रो चरणमा पनि कायमै हुने भएको छ।
सिटौला पक्षका एक नेताका अनुसार अब गठबन्धन भत्किने कुनै सम्भावना छैन। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुने भएको हो। जसका लागि निर्वाचन समितिले दिउँसो साढे ३ देखि बेलुका साढे ७ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
पहिलो चरणको निर्वाचनमा तेस्रो नम्बरमा रहेका नेता प्रकाशमान सिंहले सभापतिका लागि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए। निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए।
सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण गुरुङले २० मत पाए। विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।