काठमाडौं– नेकपा माओवादी केन्द्रले गैरभौगोलिकसहित ९ प्रदेशमध्ये ६ प्रदेशको नेतृत्व अझै टुंगो लगाउन सकेको छैन।
गत शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात भौगोलिक र दुई गैरभौगोलिकको संयुक्त रुपमा भर्चुअल उद्घाटन गरेका थिए। अहिलेसम्म उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिम्खडा, सम्पर्क समन्वय समिति प्रदेश अध्यक्षमा श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशको अध्यक्ष गायत्री गुरुङको मात्रै टुंगो लागेको हो। प्रवास प्रदेश समिति उद्घाटन नै नभएकाले पछि मिति तोकेर सम्मेलन गरिने भएको छ।
प्रदेश समिति कति सदस्य हुने भन्ने विषयमा सहमति भएपनि अध्यक्षसहित पदाधिकारीमा टुंगो लाग्न सकेको छैन। प्रदेश अध्यक्ष हुन पार्टी केन्द्रीय सदस्य नै दौडमा उत्रिएपछि मिलाउन गाह्रो भइरहेको छ। प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेशमा टिकट वितरणमा हस्तक्षेप हुने भएपछि केन्द्रीय तहका नेताहरु प्रदेशमा नेतृत्व लिन अग्रसर भएका हुन्।
प्रदेश १ मा २ सय ५१ सदस्यीय प्रदेश कमिटी मात्रै बनाएको छ। अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज भण्डारी, सुदन किराती र सुरेशकुमार राई तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुन नसकेको एक नेताले बताए।
तीनै जना केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छन्। आगामी बुधबार प्रदेश पदाधिकारीका विषयमा छलफल भई टुंगो लगाउने भनिएको छ। प्रदेश २ मा पालिका अधिवेशन नै नसकिएकाले पुस ३ गते प्रदेशको बन्दसत्र गर्ने भएको छ। त्यसपछि प्रदेश पदाधिकारी प्रदेश समिति टुंगो लगाउने भएको छ।
बागमती प्रदेशमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा गरिएको छ। अध्यक्षका लागि प्रदेश समितिमा रहेका विशाल खड्का, सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डीपी ढकालले दाबी गरेका छन्।
ती सबै प्रदेश समितिका मात्रै नेता हुन्। अध्यक्षमै सर्वसम्मत हुन नसकेपछि आज बसेर छलफल गर्ने बागमती प्रदेशका सांसद विशाल खड्काले बताए। अध्यक्षमा सर्वसम्मत नभएमा २ सय ७५ सदस्यीय प्रदेश समितिबाट मतदान गरेर टुंगो लगाउनुपर्ने नेताहरुको भनाइ छ।
तर, यसअघि प्रदेश अध्यक्ष भएका नारायण दाहाल र सचिव अन्जना विशुंखे केन्द्रीय समितिमा जाने भएपछि प्रदेशमा दाबी छोडिसकेका छन्।
यस्तै, लुम्बिनी प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि २ सय १७ जना प्रदेश समिति घोषणा गरेर शपथ समेत खुवाइसकिएको छ। प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज शर्मा ‘डाइमन’ र दीपेन्द्र पुन ‘सिजल’ले दाबी गरेका छन्।
शर्मा र पुनले आफ्नो दाबी छोड्न नमानेपछि लुम्बिनी प्रदेश सांसद सुदर्शन बराललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी गरिएपनि पदाधिकारीमा सहमति हुन नसकेको एक नेताले बताए। प्रदेश अध्यक्षसहित पदाधिकारी सर्वसम्मत बनाउन तत्काल छलफल बन्द गरिएपनि मंसिर महिनाभित्रै टुंगो लाग्ने केन्द्रीय सदस्य जीवन गौतमले बताए।
कर्णालीको अध्यक्ष हुन पूर्वमुख्यमन्त्रीसहित पूर्वमन्त्रीसम्मको दाबी
कर्णाली प्रदेश अध्यक्ष हुन पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित संघका पूर्वमन्त्री टेकबहादुर बस्नेतले समेत दाबी गरेका छन्। यस्तै, प्रदेशका पूर्वमन्त्री विमला केसी र निवर्तमान प्रदेश अध्यक्ष राजकुमार शर्माले समेत प्रदेश अध्यक्षमा दाबी गरेका छन्।
प्रदेश अध्यक्षमा पूर्वमुख्यमन्त्रीसहित मन्त्रीले समेत दाबी छोड्न तयार नभएपछि प्रदेश पदाधिकारी टुंगो लाग्न नसकेको बैठकमा सहभागी एक नेताले बताए।
प्रदेश अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ११ सदस्यीय प्रदेश समिति बनाएर शपथ खुवाइएको छ। प्रदेश अध्यक्षसहित पदाधिकारी बनाउनमा सर्वसम्मत बनाउन नेताहरुबीच छलफल चलिरहेको ती नेताले बताए।
यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय प्रदेश समिति मात्रै बनाएको नेता ओमविक्रम भाट ‘सरल’ले बताए। पार्टीको सक्रिय सदस्यका आधारमा जिल्लाबाट प्रदेश सदस्य टुंगो लगाउन सम्बन्धित जिल्लालाई जिम्मा दिइएको छ।
सुदूरपश्चिमका ९ जिल्लाले आ–आफ्नो जिल्लाबाट प्रदेश सदस्य सिफारिस गरिरहेका छन्। प्रदेश अध्यक्षका लागि हरिराम चौधरी र नरेन्द्र कुँवरले दाबी गरेका छन्।
अरु केन्द्रीय सदस्यहरुले प्रदेश अध्यक्षमा दाबी छोडेपछि कुँवर चौधरी मात्रै दाबेदार भएका हुन्। कुँवर केन्द्रीय सदस्य छन् भने चौधरी राष्ट्रिय सभा सदस्य र प्रदेश समितिमा छन्। प्रदेश समितिको टुंगो लगाएपछि मात्रै अध्यक्षसहित पदाधिकारीमा सहमतिका लागि छलफल अघि बढाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।