काठमाडौं– नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनिल केशरी शाह नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको ४ सय ८८औं सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो।
उनले असार ७ गतेदेखि नै सिइओको पद सम्हालेको नेप्सेले जनाएको छ।
शाह मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएपछि नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। एक बैंक छाडेर अर्को बैंकमा प्रमुख कार्यकारी अधिकृत हुन ६ महिना कुर्नुपर्ने राष्ट्र बैंकको नियामकीय प्रावधान ‘कुलिङ पिरियड’ का कारण उनलाई सिइओको नियुक्ति दिइएको थिएन। ‘कुलिङ पिरियड’ सकिएपछि शाहलाई सिइओको जिम्मेवारी दिइएको हो।
मेगा बैंकको संस्थापक सिइओसमेत रहेका शाहले त्यहाँ दुई कार्यकाल बिताएका थिए। उनी ८ वर्षपछि पुनः नबिल फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।