काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जारी १४औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छ्न्। उनले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै देउवाका लागि मत समेत मागेका छन्।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका निधि दोस्रो चरणमा भने देउवालाई समर्थन गर्ने निर्णयमा पुगेका हुन्। उनीसँगै पहिलो चरणमा सभापतिमा लडेका प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।
'मलाई साथ दिने साथीहरू र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु', निधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निधिले पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्न पनि अपिल गरेका छन्।
दोस्रो चरणको निर्वाचनका लागि दिउँसो साढे ३ देखि बेलुका साढे ७ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए।
सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण गुरुङले २२ मत पाएका थिए।
विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।