काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन्। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्रको व्यवस्था गरेर खोप लगाउने व्यवस्था मिलाइने उनको भनाइ छ।
यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाउन थालिने उनले जानकारी दिए। सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ।
बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको उनको भनाइ छ।
नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने निर्णय यसअघि नै गरिसकेको छ।
विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।