काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले पार्टी सभापति देउवाले १४औं महाधिवेशनका प्रतिस्पर्धी शेखर कोइरालाको विचारको पार्टीमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन्।
सभापतिका उम्मेदवार डा कोइरालाको तर्फबाट महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजिति कार्यक्रममा बोल्दै रिजालले आफूहरुले व्यक्तिको भाग नखोज्ने, तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताए।
'महाधिवेशनको प्रतिस्पर्धामा शेरबहादुर देउवा जी विजयी हुनुभएको छ। तर, महाधिवेशनको क्रममा एउटा विचार निर्माण भएको,' रिजालले भने, 'सभापति निर्वाचित भएका देउवालाई हामी भन्न चाहन्छौं यो विचारको प्रतिनिधित्व हुनुपर्छ। हामी व्यक्तिको भाग खोज्दैनौं।'
रिजालले महाधिवेशनको क्रममा चरित्र पत्ता लागेको पनि बताए। दोस्रो चरणको निर्वाचनमा देउवाकै कित्तामा उभिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई संकेत गर्दै रिजालले भने, 'महाधिवेशनका क्रममा एउटा कुरा पक्कै भा छ, दु:खमा, अप्ठेरोमा चरित्र पत्ता लाग्छ भनिन्छ नि चरित्र पत्ता लागेको छ। सुन र पित्तल छुट्टिएको छ।'
रिजालले सभापतिमा विजयी भएका देउवाको काँधमा कांग्रेसलाई पुनर्जागरित गर्ने जिम्मेवारी आएको बताए। 'कांग्रेस पुरानो ढंगले चल्दैन, बीपी कोइरालाको पार्टी बीपी कोइरालाको पार्टीजस्तै बन्नुपर्छ,' रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।