काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी रहेको छ।
पार्टी कार्यालय सानेपामा हालसम्म १ हजार ५८९ मत गणना गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
खुला केन्द्रीय सदस्यतर्फको ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। जारी मतगणनामा १ हजार ३१३ मतसहित डा शशाङ्क कोइराला सबैभन्दा अगाडि रहेका छन्।
उनलाई एनपी साउद र बालकृष्ण खाडले पछ्याइरहेका छन्। साउदले १ हजार २२ र खाडले ९७५ मत पाएका छन्। यता, रमेश लेखकले ९६९, ज्ञानेन्द्रबहादुर कार्कीले ९५५, शंकर भण्डारीले ९५२, उदयशम्शेर राणाले ९४८ र रामहरी खतिवडाले ९४४ मत पाएका छन्।
अर्जुननरसिंह केसीले ९३६ मत पाउँदा जिपछिरिङ लामाले ८८० र गोपालमान श्रेष्ठले ८७९ मत पाएका छन्। सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो।
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, उपसभापति/महामन्त्री २/२, र सहमहामन्त्री ८ जनाको मतपरिणाम सार्वजनिक भइसकेको छ।
कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि पदाधिकारी र सदस्य गरी १३४ पदको लागि भएको मतदानमा ४८७ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ४ हजार ७४३ रहेका छन्। जसमध्ये सोमबार सम्पन्न मतदानमा ४ हजार ६७२ जनाले मत खसालेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।