काठमाडौँ- राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेर सहमहामन्त्री भएका सुनिलबहादुर थापा कांग्रेस केन्द्रीय सदस्यमा विजयी हुँदा १४औँ नम्बरमा परेका छन्। उनले २४७२ मत पाएका छन्।
उनले कांग्रेसका हस्ती नेताहरू दिलेन्द्रप्रसाद बडु, डा. रामशरण महत, बलबहादुर केसीलगायतलाई पछि पारे। बडु २४४१ मतसहित १६औँ, महत २४३४ मतसहित १७औँ र केसी २३८८ मतसहित १८औँ स्थानमा छन्।
थापाभन्दा एक स्थान तल १५औँमा नैनसिंह महरको २४६७ मत छ। एक स्थान माथि मोहनबहादुर बस्नेत २४७६ मतसहित १३औँ र गोपालमान श्रेष्ठ २५३८ मतसहित १२औँ स्थानमा छन्।
पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल राप्रपामा महामन्त्रीसम्म भइसकेका थिए। राप्रपा छोड्नुअघि उनी पूर्वमहामन्त्रीको हैसियतमा भए पनि पार्टीको प्रभावशाली नेता मानिन्थे।
उनी १३ नेतासहित २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेका थिए। समायोजनमा सहमहामन्त्री पाए पनि कांग्रेसको १४औँ महाधिवेशनमा उनी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए।
उनीसँगै राप्रपा प्रवेश गरेका नौ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो। जसमध्ये तीन जना आमन्त्रित केन्द्रीय सदस्य थिए। उक्त समूहबाट केन्द्रीय सदस्यमा थापा र टीएन योगी मात्र प्रत्यासी थिए। योगी पराजित भए। उनले २५९ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।