काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्।
सोमबार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न आग्रह गरेका हुन्।
सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। मन्त्री खतिवडाले पुस महिनाभित्रमै खोप लगाउनेहरुको प्रतिशतमा वृद्धि हुने विश्वास व्यक्त गरे।
‘हाम्रो आह्वान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ। खोप हामीसँग छ। खोपको अभाव छैन, लगाइदिनुस्। घरदैलो अभियान चालेर भए पनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आव्हान गर्नुभयो। पुस महिनाभित्रमा अहिले जुन प्रतिशतको जनसंख्याले खोप लगाएका छन्, त्यो भन्दा धेरै नै माथिल्लो प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।
खोप केन्द्रहरुलाई वृद्धि गर्नुपर्ने र तिनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लवहरुकोसमेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए। उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरुले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।