काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
एकैपटक ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गरी उनको उपचारमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको परीक्षण गर्दा कोरोना पुष्टि भएको डा काफ्लेको भनाइ छ।
उनले भने, ‘मेडिकल आईसीयुमा भएका बिरामीको कोरोना देखियो। उहाँको केयरमा खटिएका नर्सहरु, अर्थोपेडिक्स डाक्टरहरु, रेजिडेन्ट डाक्टर, एनेस्थेसियाका चिकित्सक, फार्मेसी, अस्पतालका सवारी चालकलगायतका कर्मचारीमा पोजिटिभ देखिएको छ।’
बिहीबार बिहान र दिउँसो दुईपटकमा आएको रिपोर्टमा ६० जनाभन्दा बढीमा संक्रमण देखिसकेको जानकारी दिँदै उनले परीक्षण गराएकाहरुको रिपोर्ट आउन अझै बाँकी रहेको बताए।
‘अन्यको रिपोर्ट आउन बाँकी नै छ। संक्रमित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको संख्या अझै बढ्न सक्छ,’ उनले भने।
एकैपटक धेरै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ।
‘हाम्रो अस्पतालको सेवा त प्रभावित भइसक्यो, मेरै बिरामी अप्रेसन गर्न ठिक्क परेको पोजिटिभ आयो,’ उनले भने, ‘अर्थोपेडिक्स सर्जन पोजिटिभ छन्, अर्थोपेडिक्सको इमर्जेन्सी सर्जरीका बिरामी छन्, डेलिभरी गर्ने पनि छन्, एनेस्थेसियाको आकस्मिकमा पनि समस्या छ।’
डा काफ्लेले हालसम्म अस्पतालमा सेवा बन्द नै नगरिएपनि वार्डहरुमा सिफ्ट गर्ने नर्सहरु अपुग भएको बताए। ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएपछि वार्डहरु मर्ज गरेर सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
उनका अनुसार बाल रोग वार्ड दुई वटालाई मर्ज गरेर एउटा मात्र बनाइएको छ। यस्तै, अर्थोपेडिक्सको ३ वटा जनरल वार्डलाई पनि मर्ज गरिँदै छ।
मिर्गौला प्रत्यारोपण सेवा बन्द गर्ने वा नगर्ने भनेर बैठक बस्न लागिएको छ। ‘भोलि हुने लिभर ट्रासप्लान्ट क्यान्सिल गरेका छैनौं,’ उनले भने, ‘मिर्गौला प्रत्यारोपण सेवा अर्को सातादेखि बन्द गर्ने वा के गर्ने भनेर भोलि बैठक बस्दै छौं। अब बिरामीलाई पनि कोरोनाको जोखिम हुन्छ। त्यसैले सेवाहरु के गर्ने भनेर छलफल गरेका छौं।’
उनले अस्पतालमा इन्डोस्कोपी गर्ने ४ जना बिरामीमा समेत कोरोना पोजिटिभ आएपछि इन्डोस्कोपी नगराई फर्काइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।