काठमाडौं– भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा थप २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको परिवार कल्याण मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ४०२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ पुगेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणसमेत दैनिक बढिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोन संक्रमित अघिल्लो दिनको तुलनामा ५.०१ प्रतिशत बढेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ४१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको तथ्याङ्क अनुसार देशभर सक्रिय संक्रमितको संख्या बढेर १४ लाख १७ हजार ८२० पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा भारतमा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएका छन्।
कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कर्फ्यु लगाइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।