काठमाडौं– चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्। चिनियाँ स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको समाचारहरुमा उल्लेख छ।
शनिबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएका छन्। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हो। तीमध्ये १ अर्ब २२ करोडले खोपको पूरा मात्रा लगाएको चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले बताए।
शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको बताए। सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्नसमेत आग्रह गरेका थिए।
चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका संक्रमित देखिन थालेका छन्। ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।