काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थप २० खेलाडीलाई कोरोना संक्रमण भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार च्यासल फुटबल क्लबका थप १९ र मछिन्द्रका एक खेलाडीमा कोरोना संक्रमण भएको हो।
लिग निर्देशक सञ्जीव मिश्रका अनुसार च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टी भएपछि आइतबार तय भएको च्यासल र विभागीय टोली नेपाल पुलिस क्लबबीचको खेल स्थगित गरिएको छ।
‘१९ खेलाडीमा संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको हो। अब खेल कहिले हुन्छ बैठक बसेर टुँगो लगाइन्छ,’ लिग निर्देशक मिश्रले नेपाल लाइभसँग भने।
उनका अनुसार आजको एक खेल रोकिएपनि अन्य खेलहरू भने पूर्व निर्धारित मितिमै हुनेछ। नवौं चरणअन्तर्गत भोली सोमबार न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच खेल हुने तालिका छ।
‘फिफाको अन्तर्राष्ट्रिय ब्रेक तथा मोफसलका प्रतियोगिताका लागि नवौं चरणपछि एक महिना लिगलाई आराम दिइने तय थियो। लिग एक महिनाका लागि ब्रेक भएकाले हामीलाई यो खेलको लागि मिति निकाल्न खास समस्या छैन। तर, बाँकी खेल नियमित हुन्छ,’ उनले भने।
यसअघि नवौं चरणका खेल सुरू हुनुपूर्व च्यासलका च्यासलका २ जना खेलाडीलाई कोरोना संक्रमण भएको थियो।
च्यासल आठौं चरणअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलका लागि पोखरा गएको थियो। उक्त खेल खेलेर फर्किएपश्चात २ जना खेलाडीमा संक्रमण देखिएको हो।
यता, मछिन्द्र फुटबल क्लबका १ जना खेलाडीलाई पनि कोरोना संक्रमण भएको छ।
मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले १ जना खेलाडीलाई संक्रमण भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।