काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन्।
समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको उनले बताए।कोरोनाविरुद्ध खोपको समस्या नरहेको जनाउँदै मन्त्री खतिवडाले अहिले पर्याप्त खोप मौज्दात रहेको बताए।
समग्र जनसंख्याका आधारमा ४० प्रतिशतभन्दा बढीले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए। गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइरहेको उनले बताए।
सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए। कोरोनाको बीमाको रकम हस्तन्तरणका लागि छलफल भइरहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।