काठमाडौैं– डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२÷३३ केभी सब स्टेसन मंगलबारबाट सञ्चालनमा आएको छ। सब स्टेसन सञ्चालनमा आएसँगै प्रदेश ७ का पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो हुने भएको छ।
सव स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सब स्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको प्राधिकरणका अधिकारीको भनाई छ।
सब स्टेसन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा बितरण हुने छ। नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि ३३ केभीमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो।
‘अब चमेलियाको विद्युत स्याउले सब स्टेसनबाट ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आपूर्ति हुने, लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा कमी आउने छ’,आयोजना प्रमुख रमेशप्रसाद पौडेलले भने,‘ यसबाट त्यस क्षेत्रको वितरण प्रणाली सुदृढ भई विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने छ ।’
प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणले ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो । अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३÷११ केभीका सव स्टेसनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।
प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ । अव ती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेसनमार्फत आपूर्ति हुने छ ।
३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो । यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन मूनी पर्ने स्याउलेमा सब स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
सव स्टेसनको निर्माण आर्थिक वर्ष ०७२÷७३मा सुरु गरिएको थियो । सव स्टेसनमा १३२÷३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३÷११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।